सिओमद्वारा पाँच लाखको खेल सामाग्री प्रायोजन


सिओम टेबल टेनिस नेपालले नेपाल एपीएम टेबल टेनिस प्रा.ली. लाई ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ । एपीएमको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहन स्वरूप खेल सामाग्री प्रदान गर्न सामाग्री दिइएको हो ।
सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई बुधवार एक कार्यक्रमबिच खेल सामाग्री हस्तान्तरण गरे ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स सहित विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै स्पर्धाका विजेतालाई प्रोत्साहन स्वरूप खेल सामाग्री पुरस्कारका रूपमा दिइने निर्देशक महताले जनाएका छन् । पुरुष÷महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय–२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा साङ्ग्रिला डेभलोप्मेन्ट बैङ्क लिमिटेड रहेको छ भने सह–प्रायोजकमा पूर्ण शङ्कर श्रेष्ठ छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफका सहित जम्मा ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । तीन दिने प्रतियोगिताका खेलहरू भैसेपाटीमा खेलाइने छ ।

Comment