जी. ओ इन्टेरियर चेसमा शीर्ष खेलाडीको विजयी सुरुवात

जी.ओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको तीन चरणको समाप्तिमा नेपालका शीर्ष खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहेको छ ।  शुक्रवार तीन चरणको खेल सकिँदा फिडे मास्टर मनीस हमाल र क्षितिज भण्डारीको साथमा पूर्व राष्ट्रिय च्याम्पियन बद्री लाल नेपाली,नवीन तण्डुकार र पुण्यमान कर्माचार्यको तीन अङ्क रहेको छ । यसै गरी,जगन्नाथ ताम्रकार, राजीव कार्की, सुमन राई, सजिन महर्जन,युवराज पौडेल योगेश श्रेष्ठ,पूर्ण राज खड्का,रञ्जित राई,राम कुमार कार्की आशिष फुयाँल र धिरेन राईको पनि तिन अङ्क छ ।
प्रतियोगितामा १ सय ५० जना खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगिताको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले उद्घाटन गरे । उद्घाटन समारोहमा विशेष अतिथि प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार, नेपाल विलियार्ड्स स्नुकर तथा पुल एसोसिएसनका अध्यक्ष सरोज मुल्मी, थापाथली चेस पार्कका अध्यक्ष इन्द्र कार्की,नेपाल बुद्धिचाल सङ्घका महासचिव हेरा काजी महर्जन र उपाध्यक्ष ज्ञानेन्द्र खाइजु लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कुमार शंकरले गरेका थिए ।
जी.ओ इन्टेरियरको आयोजना तथा थापाथली चेस पार्कको सह आयोजनामा जारी प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने छ । आयोजक कमिटीका प्रमुख वीरेन्द्र शर्माले प्रतियोगिताले नेपाली चेसको विकासमा थप सहयोग हुने विश्वास रहेको बताए ।
प्रतियोगिता आयोजनामा थापाथली चेस पार्कका उपाध्यक्ष भरत धिमालको पनि महत्त्वपूर्ण सहयोग रहेको छ । प्रतियोगिताको लागत २ लाख ८० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १५ हजार रुपैयाँ पाउने छन् भने उपविजयीले ८ हजार रुपैयाँ तथा तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता स्विस प्रणालीमा नौ  राउन्डको हुने छ ।
प्रतियोगिताको पे मेन्ट पार्टनर प्रभु पे रहेको छ । यसै गरी, राइड सेयरिङ पार्टनर सहारा राइड रहेको छ । फुड पार्टनर लस्कर रहेको छ । ब्रीभेज पार्टनर आरसीकोला तथा हस्पीटलीटी पार्टनर होटेल ऋतु मोरिया छन् । बैङ्किङ पार्टनर एनएमबी बैङ्क रहेको छ ।
Comment