बिन्द्राको खेलाडी देखि व्यवस्थापनसम्मको यात्रा

नेपाली खेलकुदमा एउटा महिला पुस्ता थियो, तेक्वान्दो र फुटबलमा उत्तिकै जमेको त्यो पुस्ताका प्रतिनिधि पात्र थिए, विराट श्रेष्ठ, बिन्द्रा देवान लगायतको एउटा समूह । समय र घटना क्रमले यो  पुस्ताका केही अझै नेपाली खेलकुदमा सक्रिय छन् । कोही बिदेसिएका छन्, कोही सामान्य जीवन यापन गरेर बसेका पनि छन् ।
यही पुस्ताकी प्रतिनिधि पात्र बिन्द्रा देवान अहिले अहिले नेपाल महिला फुटबल सङ्घकी अध्यक्ष छिन् । पछिल्लो समय नेपालमा महिला फुटबलको सक्रियतामा देवानको भूमिका पनि त्यत्तिकै उल्लेखनीय छ ।
२०४९ मा मेची अञ्चलले सातौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि जिते पछि बिन्द्रा पनि नेपाली फुटबलमा छाएकी हुन् । यसको तिन वर्ष अघि नै उनी एनटिए प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भई सकेकी थिइन् । उनी २०५० मा भएको पूर्वाञ्चल स्तरीय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित भइन् ।
२०५१ मा भएको तेस्रो राष्ट्रिय तेक्वान्दोमा उप विजयी भएकी उनी सोही वर्ष भएको पूर्वाञ्चल स्तरीय तेक्वान्दो च्याम्पियनसिपमा पहिलो स्थान हात पार्न सफल भएकी थिइन् । उनी २०५२ को राष्ट्रिय तेक्वान्दोमा दोस्रो तथा त्यस पछिको तेक्वान्दो च्याम्पियनसिपमा तेस्रो स्थानमा सीमित भइन् । १९९५ मा काठमाडौँमा भएको पाँचौँ कलर द ग्राट तेक्वान्दो च्याम्पियनसिपमा उनी तेस्रो भइन् ।
तेक्वान्दो र फुटबलमा उत्तिकै सक्रिय बिन्द्रा २०५५ मा झापामा भएको जिल्ला स्तरीय फुटबल च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी भएकी थिइन् । तेक्वान्दोकी दोस्रो डान उनी नेपाली तेक्वान्दोमा स्वर्णिम पुस्ता रहेको समयको खेलाडी थिइन् । सिता राई, प्रमीला थापा लगायत एक से एक खेलाडीको समकालीन बिन्द्राका लागि च्याम्पियन हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन त कठिनाइ थियो नै । यसका बाबजुद लामो समय यस खेलमा छाइ रहन भने सफल भइन् ।
नन्द कला थापा, कमला हिरापन र बिन्द्रा देवान लगायत सो समयको फुटबल खेलमा सक्रिय व्यक्तिहरू अहिले पनि फुटबल विकासमा त्यत्तिकै सक्रिय छ । सामाजिक सेवा र व्यावसायिक क्षेत्रमा उत्तिकै सक्रिय बिन्द्रा सहितको एउटा समूह ललितपुर मा सञ्चालित उपमेयर कप राष्ट्रिय लिग छनोट फुटबलमा ललितपुर महानगर पालिकाको टोलीको व्यवस्थापनमा संलग्न छ । ललितपुरको टोली फाइनलको यात्रा सहित राष्ट्रिय लिगमा प्रवेश गरी सकेको छ ।
बहुमुखी खेल प्रतिभाका यी खेलाडी तेक्वान्दो र फुटबलका महत्त्वपूर्ण प्रतियोगिता अघि २०४२ मा वीरगन्जमा भएको राष्ट्रिय खेलमा मेची अञ्चलको तर्फबाट सहभागिता जनाएकी थिइन् । एएपसीको मेनेजर कोर्स समेत गरेकी यी बहुमुखी प्रतिभाकी धनी बिन्द्राको खेलकुदमा सक्रियता र समर्पणको त सराहना गर्नै पर्छ ।
कुनै समय नेपाली भलिबल, तेक्वान्दो र फुटबलमै प्रभावशाली यी खेलाडी अहिले व्यवस्थापकीय भूमिकामा यत्तिकै सक्रिय छिन् ।  नेतृत्वदायी भूमिकामा उनी सबल पनि देखिएकी छिन् ।
Comment