थप जिम्मेवारीले उत्साहित रोजीत र ललित
Manoj Shiama
2 October, 2021 12:23 pm
६० को दशकका प्रतिभाशाली मिडफील्डर रोजीत केसीको सफलता अहिले चुलिँदै छ । उज्बेकिस्तानको तास कन्दमा आयोजना हुने यु–२३ एसियन कप फुटबल छनोटका लागि रोजीत सहित गोलरक्षक प्रशिक्षक ललित चन्दले पहिलो पटक महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।युवा खेलाडी उत्पादनमा सक्रिय रोजीत अहिले पाएको सहायक प्रशिक्षकको जिम्मेवारीले उत्साहित छन् । बाल गोपाल महर्जनको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा अहिले रोजीत सहायक प्रशिक्षक तथा ललित चन्द गोलरक्षक प्रशिक्षक छन् । ललित पनि ५० को दशकमा चर्चित गोलरक्षक थिए । उनी फ्रेन्ड्स क्लबमा आबद्ध थिए ।
२५ देखि ३१ अक्टोबरसम्म आयोजना हुने सो छनोट प्रतियोगितामा नेपालले इरान, लेबनान र ताजकिस्तानको सामना गर्ने छ ।सात जना राष्ट्रिय टोलीका खेलाडी सहितको टोलीबाट राम्रो प्रदर्शनको आशा गरेको रोजीत बताउँछन् । राष्ट्रिय टोलीका आयुष घलान,गौतम श्रेष्ठ,सुमन अर्याल, मनीष डाँगी, नितिन थापा र सुरज जित ठकुरी यु–२३ टोलीमा पनि छन् ।
प्रशिक्षण टोलीमा अटाएका रोजीत सर्लाही जिल्लामा रहेका प्रशिक्षक हुन् । उनका एकसे एक उत्पादन एन्फा एकेडेमीमा रहेका छन् ।