गण्डकीको मणि मुकुन्द माथि जित

गण्डकी प्रदेश छैटौँ डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा सङ्घर्षपूर्ण जित हात पारेको छ । मङ्गलवार भएको प्रतिस्पर्धामा गण्डकीले मणि मुकुन्द क्लबसँगको निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २६–२४ र दोस्रो सेट ३६–३४ ले जितेको थियो  । त्यस पछिका दुई सेट मणिमुकुन्दसंग गण्डकी १८–२५ र २५–२७ ले पराजित भएको हो । अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो । जित निकालेता पनि गण्डकीले अङ्क बाँड्दै आफ्नो खातामा २ अङ्क जोड्न बाध्य भयो । यस खेलबाट मणि मुकुन्दले १ अङ्क जोड्यो । यसका साथै समूह बिमा रहेको गण्डकीको ५ अङ्क भएको छ । यस समूहमा पुलिसको ६ अङ्क छ ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क जोड्यो । यसका साथै हेल्प नेपालको ६ अङ्क भएको छ । अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अङ्क जोडेको हेल्प नेपालले मङ्गलवारको खेलमा प्रदेश नं. २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजित गरेको हो ।
सम्पन्न महिला तर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित हात पारेको हो । एपिएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–७ र तेस्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अङ्क जोडेको हो । यस्तै होङ्गवाङ्गजी न्यु डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अङ्क जोड्न सफल भयो ।
यसका साथै समूह ए बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अङ्कका साथ नकआउट चरणमा प्रवेश गरेका छन् । यस्तै समूह बी बाट नेपाल पुलिस क्लब र गण्डकीले अन्तिम आठको यात्रा तय गरेका छन् ।
Comment