फुटसल टोलीलाई लोकतान्त्रिकको बिदाइ
Manoj Shiama
15 September, 2021 5:46 pm

पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभात फेरी यूथ क्लब, टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले बुधवार बिदाइ गरेको छ ।
बागमती प्रदेशबाट छनौट भएको चार टोली मध्येमा परेको प्रभात फेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई चक्रपथस्थित हेडलाइन क्याफेमा नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाश सरण महतले खेलाडीहरूलाई खादा लगाएर बिदाइ गरे ।
खेलाडीहरूलाई शुभकामना दिँदै प्रमुख अतिथि महतले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर फर्कन सुझाव दिए । उनले मानसिक र शारीरिक तन्दुरुस्तीका साथै युवाहरूलाई समेटेर लोकतान्त्रिक माध्यमले खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको स्थापना भएको बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सचिव मनिष जोशीले टोखाको नेतृत्व गर्दै प्रतियोगितामा सहभागिता जनाउन लागेका क्लब तथा खेलाडीहरूलाई शुभकामना दिँदै गजराज जोशीको जन्मस्थल र विभिन्न खेलमार्फत खेलाडी र खेलको विकास गर्दै आई रहेको बताउँदै खेलाडीहरूलाई विजयी भएर आउन बधाई दिए ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका प्रमुख दीपक गुुरुङ्गले खेलाडीहरूलाई शुभकामना प्रदान गर्दै खेलाडीहरूलाई विजयी भएर आउन भन्दै विजयी भएर आएको खण्डमा खेलाडीहरूलाई उचित नगद पुरस्कारले सम्मान गर्ने बताए । उनले नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ खेल र खेलाडीहरूको हक र हितका लागि स्थापित संस्था भएकोले बागमती प्रदेशले विभिन्न खेल आयोजना, खेलाडीहरूलाई सम्मानका साथै प्रकोपमा परेकाहरूका लागि पनि सहयोग पु¥याउँदै आएको स्मरण गराए ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य लगायत बागमती प्रदेशका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।
आश्विन २ देखि २२ गते सम्म आयोजना हुने लिगका लागि बागमती प्रदेशबाट प्रभात फेरी यूथ क्लब , टोखाका साथै ढुकु फुटसल चण्डोल, शंखमुल फुटसल र स्काई गोल्स, चक्रपथ छनोट भएका छन् । टोली बिहीबार पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलमा विशाल सारुमगर (कप्तान), सुदीप पन्त, राज पौडेल, आलिग तामाङ, सन्तलाल गुरुङ, धिरज जोशी, श्रीजेश पुरी, सिजन गुरुङ, विवेक सारू मगर, सुविल श्रेष्ठ, सुनिल श्रेष्ठ, धिरज श्रेष्ठ, दीपेश श्रेष्ठ, आशिष गुरुङ रहेका छन् । यस्तै टिम व्यवस्थापकमा कृष्ण राम श्रेष्ठ र टिम प्रशिक्षकमा सरोज थापा रहेका छन् ।