नागार्जुनमा नेपाली तेक्वान्दोका धरोहर नोर्बु सहित ६ खेलाडी सम्मानित

 नेपालमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुदमा सफलता पाउने नागार्जुन नगरपालिका भित्र बसोबास गर्ने ६  पदकधारी खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् । तिन महिना अगाडी सम्पन्न भएको वीर गणेशमान राष्ट्रिय बक्सीङ्ग प्रतियोगिताको समीक्षा तथा सम्मान कार्यक्रम कलङ्की अस्थित अम्रेला इभेन्ट्समा श्री वीर गणेशमान सिंह फाउन्डेसनका केन्द्रीय सदस्य प्रभास मान श्रेष्ठको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा वीर गणेशमान बक्सीङ्ग प्रतियोगितामा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै तेह्रौँ दक्षिण एसियाली खेलका पदकधारी खेलाडीलाई सम्मान गरियो ।
कार्यक्रमको मुख्य आकर्षण तेक्वान्दो प्रशिक्षक नोर्बु लामा थिए । नेपाली टोलीलाई प्रशिक्षण दिएर १३ औ दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोमा सानदार सफलता दिलाएका प्रशिक्षक लामा ५५ हजार रुपैयाँ  सहित सम्मानित भए । तेक्वान्दो प्रशिक्षक लामा विगत २५ वर्षदेखि नागार्जुन स्थित स्यूचाटार तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक छन् । नेपालले अन्तर्राष्ट्रिय तेक्वान्दोको पुम्से स्पर्धामा पछिल्लो समय पाउने गरेको अभूतपूर्व सफलताको मुख्य कारण नै नोर्बुको उत्कृष्ट  प्रशिक्षण रहेकोमा सो खेल निकट व्यक्तिहरू एक मत छन् ।
सो कार्यक्रममा साग स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिम्सिना र जुडोका देविका खड्कालाई जनही  २५ हजार रुपैयाँ प्रदान गरियो ।
यसै गरी, जुडोकै साग रजत पदकधारी इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले जनही  १५ हजार रुपैयाँ पाए । सोही प्रतियोगितामा काश्य पदक जितेका तेक्वान्दोका अस्मिता खड्का र अश्मिन राउतले १० हजार रुपैयाँ पाए । सञ्जीला, अस्मिन र अस्मिता तीन जना नै  स्युचाटार तेक्वान्दो डोजाङका खेलाडी हुन् ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता श्यामकृष्ण खड्का लगायतको उपस्थिति थियो ।  सो नगरपालिकाका वडा अध्यक्षहरूको पनि उपस्थिति थियो । स्युचाटार तेक्वान्दो डोजाङ्गका अध्यक्ष ईश्वर विडारी तथा कोषाध्यक्ष लव के.सी तथा प्रशिक्षक सरोज बास्कोटाको पनि  कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले खेलाडी राष्ट्रका गहना भएको तथा  पदक धारी खेलाडीहरूलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताए । उनले नागार्जुन नगरपालिकालाई खेलकुद मय बनाउन  निकट भविष्यमा इन्डोर हल  बनाउन र बनाउँदै गरेका हलहरूलाई तयार गर्न समेत  तत्पर रहेको बताए ।
Comment