अस्ट्रेलियासँग नेपाल पराजित

विश्वकप छनोट तथा एसिया कप छनोट अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । पहिलो हाफमा २ र दोस्रो हाफमा १ खाँदै नेपालले विश्वकप छनोटको यात्रालाई लगभग टुङ्ग्याएको हो ।
खेलको छैटौँ मिनेटमै गोल खाएर पछि परेको नेपालले ३८ औँ मिनेटमा दोस्रो गोल खाएको थियो।  ५७ मिनेटमा थप एक गोल खाएपछि नेपाल ३–० गोल अन्तरले पराजित भएको हो।
सो खेलमा नेपालमा डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । नेपालविरुद्ध खेलको छैटौँ मिनेटमा म्याथ लेकीले पहिलो गोल गरेका थिए । यसै गरी दोस्रो गोल उनै लेकीको उत्कृष्ट पासमा फ्रान काराकिकले ३८ औँ मिनेटमा गरे । ५७ औँ मिनेटमा मार्टिन बोयलले तेस्रो गोल गरे ।
हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । अस्ट्रेलिया भने विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट भएको छ ।
नेपाल भने एसियन कपको तेस्रो चरण खेल्न प्ले अफको पर्खाइमा बस्नुपर्ने हुन्छ। सबै समूहका पुछारमा रहेका देश र चौथो स्थानका चार टोलीले प्ले अफमा प्रतिस्पर्धा गर्न पाउने नियम छ ।
अस्ट्रेलियाले ७ खेलमा शतप्रतिशत जित निकाल्दै २१ अङ्क जोड्न सफल भयो। नेपाल भने ८ खेलमा ६ अङ्क सहित चौथो स्थानमा रह्यो। नेपालले मात्र दुई खेलमा एकै देशविरुद्ध( चाइनिज ताइपेई) जित निकाल्न सफल भयो।
Comment