कुशल खेलाडी पछि खेलाडीका पथ प्रदर्शक बने रोजित

कुनै समय नेपाली फुटबलमा छाएका मिडफील्डर रोजित केसी हाल प्रशिक्षकको रूपमा त्यत्तिकै छाएका छन् । एन्फा एकेडेमी पहिलो ब्याजका यी मिडफील्डरको प्रशिक्षणमा रहेको सर्लाही जिल्ला फुटबल टिमले होनहार बाल खेलाडी उत्पादन गरेको छ  ।
हालै काठमाडौँमा एन्फा एकेडेमीका लागि भएको यु–१३ टोलीका उनकै प्रशिक्षणमा रहेको पाँच जना छनोट भएका हुन् । प्रशान्त मोक्तान,डम्बर बि.क,दीपेश डमजन, रोजित घले र नसिब योञ्जन छनोट भएका हुन् । यस अघि रोजीतकै प्रशिक्षणमा रहेका एक जना यु–१३ टोली तथा एक जना यु–१६ टोलीमा समावेश भइसकेका छन् । उनकै प्रशिक्षणमा बि.स २०७६ मा सर्लाहीको नारायण जनता माविले क्वीक्स कप फुटबल प्रतियोगिताको उपाधि पनि जिती सकेको छ ।  जुन प्रतियोगितामा उनले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका थिए ।
नेपालले रोजीतकै नेतृत्वमा एएफसी यु–१७ छनोट खेलेको थियो भने यु–१९ एएफसी छनोटमा उनी उप कप्तान रहेका थिए ।
बल माथिको नियन्त्रण सटिक पास र मैदानमा छाउने यी स्कीलफुल खेलाडी मिडफिल्डको कुनै पनि स्थानमा उत्तिकै कुशलतापूर्वक खेल्ने खुबी भएकै कारण डाइनामिक मिडफील्डरको छवि बनाएका थिए । जावलाखेलमा रहँदा होस या सङ्कटामा होस, धेरै खेलमा त उनी मैदानका खेल डिजाइनरकै रूपमा छाएका थिए ।
 सुरुमा जावलाखेल यूथ क्लबलाई सुपर सिक्समा प्रवेश गराउन महत्त्वपूर्ण भूमिका निभाएका रोजितले सङ्कटा क्लबमा रहँदा पनि उस्तै उत्कृष्ट प्रदर्शन गरेका थिए । ६० को दशकको सुरुवातका यी मिडफील्डर चोट बोके पछि खेलाडी जीवनबाट त टाढा रहे । तर, प्रशिक्षक जीवनमा एन्फा एकेडेमीकै एउटै जिल्लाका सबैभन्दा धेरै पाँच जना परे पछि उनको क्षमता फेरी एक पटक पुष्टि भएको छ । उनको प्रशिक्षण क्षमताले  सर्लाही मात्र नभई नेपाली फुटबलमै एउटा फराकिलो दायरा ओगट्ने अपेक्षा गर्न सकिन्छ ।
नेपाली फुटबलको यो डेढ दशकको अवधिमा त्यो समयका खेल डिजाइनरलाई अहिले कुशल प्रशिक्षकको रूपमा पाएको छ । मैदानका आर्कीटेक अहिले धेरै खेलाडीका पथ प्रदर्शक बनेका छन् ।
Comment