नेपालको जितमा नवयुगको गोल

 फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौँ खेलमा नेपालले चाइनिज ताइपेइविरुद्ध नेपालले सहज जित हात पारेको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अञ्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो ।
सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अञ्जनले यसलाई सहजै उपयोग गोल गरे ।
यससँगै अञ्जनले विरुद्धता लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि तापेको घरेलु मैदानमा नेपालले २–० को जित निकाल्दा अञ्जनले दुई गोल गरेका थिए ।
त्यसपछि खेलको ८१ औँ मिनेटमा परिवर्तित खेलाडीको रूपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाए । विगत केही वर्ष यता नेपालले अन्तराष्ट्रिय खेलमा जित हात पार्दा नवयुगले गोल नगरेको विरलै छ ।
यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ ।
नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अङ्क रहेको छ । जितविहीन चाइनिज ताइपेइको ६ खेलमा कुनै अङ्क छैन ।
अस्ट्रेलियाले ४ खेलमा १२ अङ्क जोड्दा जोर्डन र कुवेतको ५–५ खेलमा समान १०–१० अङ्क रहेको छ ।
Comment