आयोजक दिलीप स्मृति टिम च्याम्पियन

आयोजक दिलीप स्मृति प्रतिष्ठान चौथो दिलीप स्मृति उपत्यका व्यापी तेक्वान्दो प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलीप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो ।
दोस्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पारेको हो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्व निकेतन तेस्रो भयो ।
सिनियरको पुरुषमा दिलीप स्मृतिका शिव श्रेष्ठ तथा ढल्कोका रोशन नेपाली उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा सुप्रिमका निश्चल घर्ती मगर तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य द्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका सदस्य सुभाष श्रेष्ठ, १३ औँ सागका दोहोरो स्वर्ण विजेता द्वय करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्का र कोषाध्यक्ष बब्लु सिवाकोटी, तेक्वान्दोका मनोज खड्गी तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल लगायतलाई सम्मान गरिएको थियो ।
दुई दिने प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडी सहभागी थिए । पुरुषमा ११ र महिलामा ९ गरी २० स्पर्धामा प्रतिस्पर्धा भएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।
Comment