महर्जनद्वारा ४५ डोजाङलाई खेल सामाग्री सहयोग


काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको पहलमा काठमाडौँमा रहेका विभिन्न ४५ तेक्वान्दो डोजाङलाई बिहीबार खेल सामाग्री वितरण गरिएको छ ।
नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको सहयोगमा डोजाङहरुलाई खेल सामाग्री वितरण गरिएको हो । प्रत्येक डोजाङलाई एक सेट चेस्ट प्याड, एक सेट हेड गार्ड, एक सेट ग्रोइन गार्ड र दुई थान किक प्याड गरी ११ हजार २ सय मूल्य बराबरको सामाग्री प्रदान गरिएको थियो । कुल ५ लाख ४ हजार रुपैयाँ मूल्य बराबरको सामाग्री वितरण गरियो ।
अध्यक्ष महर्जनले कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित एक कार्यक्रमबिच डोजाङका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरे । अध्यक्ष महर्जनले सहयोग सानै भए पनि खेल सामाग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिन पनि सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिसकेका महर्जनले १४ औँ सागमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख नगदसहित पुरस्कृत गर्ने घोषणा पनि यसअघि नै गरिसकेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले एक मनकारी व्यक्तिलाई पदाधिकारीका रूपमा नेपाल तेक्वान्दो सङ्घले पाउनु खुसीको कुरा भएको बताउँदै सहयोग प्रति आभार व्यक्त गरे ।
तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जतिसुकै राम्रो खेलाडी भए पनि खेल सामाग्रीको अभावमा खेलाडीलाई प्रशिक्षणमा कठिनाइ हुने बताउँदै सहयोगले खेलाडीको प्रशिक्षणमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्काले सहयोगले डोजाङ प्रमुख र खेलाडीको मनोबल उच्च बनाउने धारणा व्यक्त गर्दै सहयोगका लागि सङ्घ परिवारका तर्फबाट धन्यवाद व्यक्त गरे ।

Comment