अकि र सर्भानीलाई यु–१६ को उपाधि


अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन् । अकिले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए । यस्तै र्गल्स यु–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जित निकालिन । सर्भानीले दुवै सेट ७–५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो ।
दुवै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ हात पारे । विजयी खेलाडीलाई नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, आईएमई फाउन्डेसनका अध्यक्ष एवं आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आईएमई फाउन्डेसनकी सदस्य सचिव अञ्जली अर्याल ढकाल लगायतले पुरस्कार वितरण गरे ।  सोही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा देशै भरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । चैत १७ गतेबाट आयोजना भएको प्रतियोगितामा र्गल्स तर्फ ४५ र ब्वाईज तर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

Comment