बुटवल लुम्बिनीमा तिन विदेशी खेलाडी 

बुटवल लुम्बिनी फुटबल क्लबले वैशाखको दोस्रो साताबाट काठमाडौँमा सुरु हुने तय भएको नेपाल सुपर लिग (एनएसएल) का लागी टोलीलाई मजबुत बनाउन तीन विदेशी खेलाडीसँग सम्झौता गरेको गरेको छ । क्लबले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै टोली सार्वजनिक गरेको हो ।

क्लबले प्रतियोगिताका लागि तीनै जना अफ्रिकी खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ । क्लबका जनरल म्यानेजर राजुकाजी शाक्यका अनुसार ती विदेशी खेलाडी घाना, नाइजेरिया र चाँदका रहेका छन् । नाइजेरियन ओमोलाजा नुरन करिम, घानाबाट विलियम ओपोकुएसिड र चाँदका अर्मान्ड बिदमको उपस्थितिले आसन्न लिगमा बुटवललाई बलियो बनाएको छ ।

अर्मान्डले यसअघि पनि नेपालमा फुटबल खेलेका छन् । उनी गत सिजन च्यासलबाट सहिद स्मारक ए डिभिजन लिग खेल्न काठमाडौँ आए पनि लिग खेल्न पाएनन् । उनले च्यासलबाट मोफसलको प्रतियोगिता भने खेलेको छन् । बाँकी दुई खेलाडीका लागी नेपाली फुटबल नयाँ अनुभव हुने छ ।

क्लबले यस अघि नै अक्सनमार्फत १४ खेलाडीलाई लिएको छ । टोलीको मार्की खेलाडीमा गोलरक्षक विशाल श्रेष्ठ रहेका छन् भने प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन् ।

क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले उपाधि जित्ने उद्देश्यले टोली तयार पारेको जनाए । ‘हामीले विदेशी खेलाडीको अनुबन्ध पनि गरिसकेका छौँ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘हामी उपाधि जित्ने लक्ष्यमा छौँ । त्यसका लागी टोलीलाई आवश्यक सबै सुविधा उपलब्ध गराउने छौँ ।’ क्लबका अनुसार प्रतियोगिताको तयारी स्वरूप खेलाडीहरूलाई अर्को साताबाट बन्द प्रशिक्षणमा राखिने छ ।

टोलीका मार्की खेलाडी विशालले प्रतियोगिताका लागि आफ्नो टोली राम्रो बनेको बताएका छन् । उनका अनुसार क्लबले अक्सनमा चाहेको केही खेलाडी नपाए पनि  पाएकै सबै राम्रो भएको बताए ।

Comment