तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

Manoj Shiama
26 March, 2021 6:22 pm


कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्र नगरमा तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रवार सुरु भयो । प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर  शाहीले उद्घाटन गरे । सो अवसरमा मुख्य मन्त्री शाहीले खेलकुदको महत्त्वलाई ध्यानमा दिँदै प्रदेश सरकारले नीति तथा योजना बनाएको बताए ।
विशेष अतिथिको रूपमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कर्णाली प्रदेशमा भएको यो प्रतियोगिता महत्त्वपूर्ण रहेको बताउँदै कर्णाली प्रदेश आगामी दिनमा पिछडिएको प्रदेश नभई अग्रणी रहेको प्रदेशको रूपमा चिनिन सक्ने बताए । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश समसेर राणाले प्रतियोगिता उदाहरणीय भएको बताए ।
आयोजक कमिटीका प्रमुख नन्दा बस्यालको सभापतित्वमा भएको उद्घाटन समारोहमा तेक्वान्दोका मुख्य प्रशिक्षक नबिन कुमार श्रेष्ठ र ओलम्पियन सँगिना वैद्य तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठको पनि उपस्थिति थियो ।
प्रतियोगितामा पुम्से र ग्योरोगी गरी २४ स्पर्धा समावेश गरिएका छन् । नेपाल तेक्वान्दो सङ्घ, महिला सशक्तीकरण समितिको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद सङ्घको सहयोग रहेको छ ।
प्रतियोगितामा च्याम्पियन टोलीले १ लाख ,उप विजयी टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । सिनीयर र जुनियरका वेस्ट फाइटरले २५ हजार रुपैयाँ पाउने छन् । व्यक्तिगत तर्फ स्वर्ण पदक बापत ३, रजत पदक बापत २ तथा काश्य पदक बापत १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


४ लाख रुपैयाँ भन्दा बढीको पुरस्कार राशि रहेको प्रतियोगिताको कुल लागत ४५ लाख ६६ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगितामा ५० भन्दा बढी टोलीका लगभग ४सय खेलाडीको सहभागिता रहेको छ ।


प्रतियोगिता अन्तरगत पहिलो दिन भएको सिनीयर ६७ किलो तौल समूहको खेलमा सफलता पाउँदै नुवाकोटकी सुस्मीता राईले स्वर्ण पदक जितिन् । यसै गरी,बुटवलकी सुस्मी अस्लामी मगरले रजत तथा मकवानपुरकी प्रेरणा लामा मोक्तान र चितवनकी सुप्रीया गुरुङले काश्य पदक जिते ।


५७ किलो तौल समूह सिनीयरमा भैरहवाकी सृजना विष्टले स्वर्ण, लैनचौरकी स्यारोन गुरुङले रजत तथा इटहरीकी एन्जलीका खड्का र उज्ज्वल तेक्वान्दो डोजाङकी निशा केसीले काश्य पदक जिते ।