सेभेन–ए–साइड फुटबलमा प्रिक्वाटरफाइनलका खेल सम्पन्न

पोखरा
इन्द्रेणी एकीकृत विकास केन्द्र बगर टुँडिखेलको आयोजनामा टुँडिखेल मैदान पोखरामा जारी दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत बुधबारदेखि प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन्।
बुधबार भएको पहिलो खेलमा आायोजक इन्द्रेणी क्लबले डिफेण्डिङ च्याम्पियन पोखरा भ्याली स्पोर्टस् क्लबलाई सडन डेथमा ८–७ ले पराजित गरेको छ।
निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। निर्धारित समयमा इन्द्रेणीको लागि बिमल राना र विवश श्रेष्ठ तथा पोखरा भ्यालीको तर्फबाट कुमार गुरुङ र तेन्जिङ गुरुङले एक–एक गोल गरेका थिए।
दोस्रो खेलमा एलजी एशोसिएसनले एबीसीलाई १–० पाखा लगायो। एलजीको जीतमा सिद्धार्थ रञ्जितले निर्णायक गोल गरेका थिए।तेस्रो खेलमा संगम एफसी एवाईसीलाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो। संगमको जीतमा राकेश गुरुङले पाँच तथा सरोज तामाङले दुई गोलको योगदान दिएका थिए।
चौथो खेलमा एसवाईसी बि–१३ बाझापाटनले योङस्टार क्लब विजयपुरलाई २–१ ले हरायो। एसवाईसीको लागि सुशील लामा र सञ्जय गुरुङले एक–एक गोल गरे भने योङस्टारको तर्फबाट मात्र एक गोल बेलप्रसाद गुरुङले गरेका थिए।विजेता चारैटीम क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार गौरीघाट एफसी र एलजी एशोसिएसनबीच पहिलो, एसाईसी बि–१३ र पाटन युनाइटेडबीच दोस्रो, विष्णुपादुका क्लब हेमजा र संगम एफसीबीच तेस्रो ता हिमालयन क्लब बाटुलेचौर र इन्द्रेणी क्लबबीच चौथो क्वाटरफाइनल खेल हुने इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।
फागुन १६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विजेता टीमलाई एक लाख एक हजार १० तथा उपविजेता टीमलाई नगद ५१ हजार १० रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै अनुशासित टीम, बेस्ट प्लयेर, बेस्ट गोलकिपर, बेस्ट डिफेण्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र हाइस्कोररलाई जनही पाँच हजार १० रुपैयाँ प्रदान गरिने छ।
बचत रकममध्ये ५० प्रतिशत रकम गाईघाटमा रहेको केन्द्रको ३५ रोपनी जग्गामा इन्द्रेणी ज्येष्ठ नागरिक गृह बनाउने काममा लगानी गर्ने, २५ प्रतिशत रकम खेलकुद क्षेत्रमा लगाउने र २५ प्रतिशत रकम कार्यालय सञ्चालन गर्न खर्च गरिने छ।

Comment