फुटबल विकासमा किकर्स प्रालीको अर्को महत्त्वपूर्ण कदम


काठमाडौँ किकर्स प्रालीले फुटबल क्लिनिक सञ्चालनमा ल्याउने भएको छ ।  दरवारमार्गस्थित रोयल सिंघी होटेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष नवीन पाण्डेले उक्त जानकारी गराएका हुन् ।
नेपालमा फुटबलको भविष्य र सम्भावना प्रचुर मात्रामा रहेको र उक्त कार्यको मार्केटिङ मात्र नभएको भन्दै पाण्डे उक्त सम्भावनालाई निजी क्षेत्रबाट उजागर गर्दै अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने संस्थाको उद्देश्य रहेको बताए । राज्यको साधन र श्रोतमा मात्र निर्भर रहेमा बालबालिकामा रहेको क्षमतालाई उजागर गर्न असम्भव रहेको भन्दै अव निजी क्षेत्रले उक्त असम्भव अवस्थालाई सम्भवमा उतार्ने कार्य यस संस्थाले गर्ने बताए । त्यसका लागि त्यस उद्देश्यका लागि दीर्घकालीन योजना सहित स्कटल्यान्डका लि. मेनसनलाई प्रशिक्षकको रूपमा अनुबन्ध गरेको जानकारी गराइयो । प्रशिक्षक मेनसन १९९४ देखि स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा काम गरी सकेका तथा एएफसी च्याम्पियनसिप लिग र एएफसी कपमा टिम सम्हालिसकेका प्रशिक्षक हुन् ।
नेपाली फुटबलको क्षेत्रमा विगत ४ वर्ष देखि प्रशिक्षण तथा प्रशिक्षकहरूको स्तरोन्नतिको कार्य गर्दै आइरहेकोमा कोभिड १९ का कारण केही समय स्थगित गरिएकोमा उक्त कार्यलाई पुनः सञ्चालनमा ल्याउन लागेको विज्ञप्ति मार्फत जानकारी गराइएको हो ।
ग्रास रुट लेभलदेखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरी काठमाडौँ किकर्स फुटबल क्लिनिक शुक्रवार देखि सुरु गर्न लागेको विज्ञप्तिमा जनाइएको छ । सुरुवातका क्रममा आगामी शुक्रबा, शनिवार तथा आइतबार दैनिक २ घण्टा फुटबल क्लिनिकको आयोजना गर्न लागिएको हो । जसमा ६ देखि ९, १० देखि १३ र १४ देखि १६ वर्षका गरी तीन समूहका बालबालिका तथा फुटबल खेलाडीलाई प्रशिक्षण प्रदान गरिने जनाइएको छ । त्यसका लागि हाल प्रत्येक बालबालिकाबाट रु। १ हजार शुल्क राखिएको समेत जानकारी गराइयो । प्रशिक्षण बुढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित कपन स्पोर्टस् सेन्टरमा हुनेछ । उक्त सुरुवाती प्रशिक्षण पश्चात् आफ्नो समय तालिका प्रकाशन गरी प्रशिक्षणका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएका छन् ।
किकर्स प्राली नेपाली फुटबलमा निस्स्वार्थ समर्पित व्यक्तित्वहरू सम्मिलित संस्था हो । यस प्रालीले विगतमा प्रशिक्षण दिने काम गर्दै आइरहेको थियो ।
यस पटकको प्रशिक्षणले नेपाली फुटबलमा विशेष बल  पुग्ने अपेक्षा गरिएको छ । प्रशिक्षक मेनसनले अध्यक्ष पाण्डेको निस्स्वार्थ फुटबल प्रेमका कारणले प्रभावित हुँदै प्रशिक्षणको जिम्मेवारी सम्हालेको बताए ।
.

Comment