समीर उत्कृष्ट

नेपाल वादोरियो कराते डो सङ्घको वार्षिक कार्यक्रम अनुसार सञ्चालित ग्रेडिङमा काठमाडौँका समीर लामा उत्कृष्ट घोषित भएका छन् ।
सहभागी ४९ जना मध्ये समीरले १०० पूर्णाङ्कमा सर्वाधिक ७९ अङ्क ल्याउँदै उत्कृष्ट बनेका हुन् । सरस्वती डोजोले आयोजना गरेको २१ औँ दीक्षान्त कार्यक्रममा समीरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो । ग्रेडिङमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली र दोलखाका खेलाडीको सहभागिता रहेको बताइएको छ ।
सहभागी ४९ मध्ये ४५ जना ब्राउन बेल्टबाट फस्ट डान ब्ल्याक बेल्ट तथा बाँकी ४ ब्ल्याक बेल्ट फस्ट डनबाट दोस्रो डानमा पदोन्नति भएका छन् ।
प्रशिक्षकहरू सूर्य राई, सन्तोष माझी, रमेश ढुङ्गेल र पुरुषोत्तम पोखरेलले ग्रेडिङ सञ्चालन गरेका थिए । उत्तीर्ण हुनेलाई नेपाल कराते महासङ्घका महासचिव एवं वादोरियो कातेका संस्थापक मुख्य प्रशिक्षक हरिशरण केसी, महानगर प्रहरी वृत्त, बौद्धका डिएसपी नवीन कार्कीलगायतले एक कार्यक्रमबिच प्रमाण पत्र र बेल्ट प्रदान गरे ।
सो अवसरमा महासचिव केसीले कोरोना महामारीका बेला गरिएको लकडाउन र निषेधाज्ञाको अवधिमा समस्यामा परेका खेलाडी, प्रशिक्षक, बृद्धबृद्धा र पशुपन्छीलाई सहयोग गरेको बताउँदै मर्कामा परेका खेलाडीलाई आगामी दिनमा पनि सहयोग गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।
Comment