वडा नम्बर २ लाई गजराज जोशी कपको उपाधि

वडा नम्बर २ ले टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
टोखास्थित भुतखेल मैदानमा शुक्रवार भएको फाइनलमा वडा नम्बर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । वडा नम्बर २ को जितमा दिनेश डङ्गोलले २ तथा सरोज श्रेष्ठले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डङ्गोलले गोल गर्दै वडा नम्बर २ लाई अग्रता दिलाएको थियो ।
६७औँ मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै वडा नम्बर २ को अग्रता दोब्बर बनायो । ७३औँ मिनेटमा कप्तान सरोज श्रेष्ठले गोल गर्दै वडा नम्बर २ लाई उपाधि दिलाए । वडा नम्बर ८ ले पनि केही अवसर पाए पनि सदुपयोग हुन नसक्दा उपाधि विमुख बन्यो ।
उपाधिसँगै वडा नम्बर २ ले ७० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो  भएको वडा नम्बर ८ ले ३५ हजार रुपैयाँ प्राप्त गरे । वडा नं ८ का अनिल थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । वडा नम्बर २ का सञ्जय श्रेष्ठ उत्कृष्ट गोलरक्षक, वडा नम्बर १ का सागर डगोंल उत्कृष्ट डिफेन्डर र प्रतियोगितामा ५ गोल गरेका वडा नम्बर २ का सरोज श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनिए । ।उनीहरूले समान ३–३ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा वडा नम्बर ६ अनुशासित टोली घोषित भए । विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला , नेपाल फुट भली सङ्घका अध्यक्ष मनि जोशी, वडा नं १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, आयोजक एसडि ९९ स्पोर्टस् कर्नरका अध्यक्ष सुजन दुलाल लगायतले पुरस्कृत गरे ।
५ माघदेखि सुरु भएको प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको थियो । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रस्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको थियो ।
Comment