दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल जारी

Manoj Shiama
22 February, 2015 10:54 am

pokhara seven a side

पोखरा
इन्द्रेणी एकीकृत विकास केन्द्र बगर टुँडिखेलको आयोजनामा टुँडिखेल मैदान पोखरामा जारी दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत शनिबार आठ खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा स्वस्तिक नेपालले एनजी गाइजलाई ५–० ले हरायो। स्वस्तिक नेपालको लागि केबी रानामगरले चार तथा राजन गुरुङले एक गोलको योगदान दिए। दोस्रो खेलमा हिमालयन क्लब बाटुलेचौरले मिरुवा एफसीलाई ३–१ ले पाखा लगायो। हिमालयनको जीतमा अनिल लामा, अभिषेक थकाली र इश्वर रानामगरले एक–एक गोल गरे भने कृष्ण गुरुङले मिरुवा एफसीको लागि सान्त्वना गोल गरेका थिए।तेस्रो खेलमा एकता एफसीले भदौरे युवा क्लबलाई ६–१ ले पराजित ग¥यो। एकताको लागि कृष्ण गुरुङ र कुमार गुरुङले दुई–दुई तथा विजय श्रेष्ठ र अक्ष गुरुङले एक–एक गोल गरे भने भदौरेको लागि मात्र एक गोल किसान गुरुङले गरे।
चौथो खेलमा मेरो नेपाल युवा क्लबले नेपाल मुस्लिमलाई ४–१, पाँचौं खेलमा विटी जुनिरले मालेपाटन एफसीलाई टाइब्रेकरमा ३–२ ले हरायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएको थियो।छैटौं खेलमा एवाईसीले इन्द्रेणी नीलोलाई ३–० ले पराजित ग¥यो। सातौं खेलमा एबीसीले त्रिशक्ति युवा क्लबबाट वाकओभर पायो। आठौं खेलमा पाटन युनाइटेडले इन्द्रेणी युनाइटेडलाई ४–१ ले पाखा लगायो।
आइतबार पाँच खेल हुने इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।
स्वास्थ्य र आपसी मेलमिलापका लागि ज्येष्ठ नागरिक गृह निर्माणको प्रचार–प्रसार र कोषको लागि सहयोग भन्ने नाराका साथ सञ्चालन भएको प्रतियोगितामा ४० टीमको सहभागिता रहेको छ।
फागुन १६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विजेता टीमलाई एक लाख एक हजार १० तथा उपविजेता टीमलाई नगद ५१ हजार १० रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै अनुशासित टीम, बेस्ट प्लयेर, बेस्ट गोलकिपर, बेस्ट डिफेण्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र हाइस्कोररलाई जनही पाँच हजार १० रुपैयाँ प्रदान गरिने छ।
बचत रकममध्ये ५० प्रतिशत रकम गाईघाटमा रहेको केन्द्रको ३५ रोपनी जग्गामा इन्द्रेणी ज्येष्ठ नागरिक गृह बनाउने काममा लगानी गर्ने, २५ प्रतिशत रकम खेलकुद क्षेत्रमा लगाउने र २५ प्रतिशत रकम कार्यालय सञ्चालन गर्न खर्च गरिने छ। तस्विरः उमेश पुन