मानन्धर ईन्टरनेशनल काता च्याम्पियनसिपको फाइनलमा

नेपालका कराँते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाइन कराँते काता च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेका छन् ।

केरला कराँते सङ्घ, भारतको आयोजनामा भएको अनलाइन कराँते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्द्वी पछाडि पार्दै मानन्धर ३५ – ४५ वर्ष उमेर समूह ‘ए’ बाट फाइनल प्रवेश गरेका हुन् । उनले सेमिफाइनलमा भारतका खेलाडीहरूलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए । अव उनले उपाधिका लागि फाइनलमा स्पेनका खेलाडीको सामना गर्नेछन् । विश्व कराँते महासङ्घ र एसियाली कराँते महासङ्घको नियममा खेलाइएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरी ४ विधामा प्रतिस्पर्धा गराइएको मानन्धर स्वयंले जानकारी गराएका छन् । नेपालबाट सो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् । एक महिना देखि सञ्चालन भइरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।

अन्य विधाको सेमिफाइनल सम्पन्न पश्चात् फाइनल जुन १३ तारिखमा आयोजना हुने मानन्धरले जानकारी गराए ।

कोभिड १९ बाट विश्व आक्रान्त भइरहेको अवस्थामा विश्वका विभिन्न अन्तर्राष्ट्रिय खेल संस्थाहरूले अनलाइन मार्फत खेलाडी तथा प्रशिक्षकहरूलाई क्रियाशील गर्दै आइरहेका छन् । त्यसै क्रममा विश्व कराँते महासङ्घ र एसियाली कराँते महासङ्घको सम्बन्धनमा केरला कराँते सङ्घले उक्त च्याम्पियनसिप आयोजना गरेको थियो ।

Comment