निशालाई न्यु जाउलाखेलको सम्मान

न्यु जाउलाखेल तेक्वान्दो डोजाङले १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल आफ्नो डोजाङकी उत्पादन निशा दर्नाललाई सम्मान गरेको छ । दर्नालले काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा पुम्सेमा स्वर्ण पदक जितेकी थिइन् । दर्नाललाई ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । सोही कार्यक्रममा तेक्वान्दो १३ औ दक्षिण एसियाली खेलकुदमा टोलीको जिम्मेवारी सम्हाल्ने प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
गत दक्षिण एसियाली खेलकुदमा नवीन श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा क्वांग योग दोल, टिका लिम्बु, संगीना वैद्य, हिरा थापा, नोर्बु लामा र दीपक विष्टले टोली सम्हालेका थिए ।


ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजकाजी महर्जनले प्रशिक्षक तथा खेलाडीलाई सम्मानित गरे । डोजाङ प्रमुख थानेश्वर दर्लामी मगरले दिएको जानकारी अनुसार निशा नौ वर्ष अघि जाउलाखेलमा आबद्ध भएकी थिइन् । सम्मान कार्यक्रममा ३ नं प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरी, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत पराजुलीको उपस्थिति थियो । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष प्रमोद पराजुली, र भक्तपुर जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष इन्द्रभक्त चित्रकारको पनि कार्यक्रममा उपस्थिति थियो ।

Comment