आर्मी र मच्छिन्द्रको प्रतिस्पर्धा जारी


यस वर्षको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधिको टुङ्गो दुई दाबेदार नेपाल आर्मी क्लब र सानमिगेल मच्छिन्द्र क्लब बिचको अन्तिम खेलबाटै टुङ्गो लाग्ने सम्भावना प्रबल भएको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा यी दुवै टोलीले जित हात पारे पछि आर्मीको एक अङ्कको अग्रता यथावत रहेको छ । दुई खेल बाँकी रहँदा आर्मीको २६ तथा मच्छिन्द्रको २५ अङ्क छ । यी दुई बिच भिडन्त हुनु अघि आर्मीले ब्रिगेड ब्वाइज क्लब तथा मच्छिन्द्रले सङ्कटा क्लबसँग खेल्ने छन् ।
बिहीबार मच्छिन्द्रले सरस्वती युथ क्लबलाई ६–१ ले पराजित हराएको हो । विजयी टोलीका लागि दीपक राईले दुई गोल गरे । विशाल राई, देवेन्द्र तामाङ,सोलीडे ओलावालुनी अडेलाजा र आन्द्रेइ निया चोन्कोइले गोल गरे । ४० औ मिनेटमा तामाङको गोलमा ५४ औ मिनेटमा दीपकले गोल थपे । ५९ औ मिनेटमा विशालले अर्को गोल गरे । ७७ औ मिनेटमा दीपकले अर्को गोल गरे । ७८ औ मिनेटमा प्राप्त पेनाल्टी खेर फाल्दै दीपकले गोल अन्तर अझ फराकिलो पार्ने अवसर गुमाएका थिए । मच्छिन्द्रका रक्षक सेगुनले डी बक्समा ह्यान्ड गरे पछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अजिम भुषारीले ८७ औ मिनेटमा गोल अन्तर घटाएका थिए । इन्जुरी टाइममा मच्छिन्द्र थप दुई गोल गर्न सफल भयो । खेलमा दीपक राई केल्मे म्यान अफ द म्याच घोषित भए ।
बिहीबारकै अर्को खेलमा आर्मीले एपीएफलाई २–१ ले पराजित गर्दै अग्रता कायम राख्न सफल भयो । आर्मीलाई जित दिलाउने क्रममा सन्तोष तामाङले दुवै गोल गरे । १६ औ मिनेटमा सन्तोषले अग्रता दिलाएको खेलमा ३७ औ मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने प्रयास गरेका थिए । सन्तोषको पेनाल्टी प्रहार एपीएफका गोल रक्षक राजु योगीले बचाए पनि उनले रिबाउन्डमा गोल गरेका हुन् । ४१ औ मिनेटमा सन्तोषले आर्मीका लागि विजयी गोल गरेका हुन् ।
हार पछि सरस्वती ४ अङ्क सहित पुछारमा रहेको छ भने एपीएफ पुछारबाट दोस्रो स्थानमा छ ।

Comment