सरस्वतीको पहिलो जित

कतार एयरवेज सहिद स्मारक लिगमा सरस्वती युथ क्लबले पहिलो जित हात पारेको छ । सरस्वतीले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ ले पराजित गरेको हो । पूर्ण बहादुर श्रेष्ठको सानदार क्रसमा हेड गर्दै कजिम अडिगोके भुसारीले सरस्वतीलाई पहिलो अग्रता दिलाएका थिए ।
५ औ मिनेटमा सरस्वतीले लिएको त्यो अग्रता ५ मिनेट भन्दा बढी टिक्न सकेन । आशिष गुरुङले बराबरी गोल गरे पनि ३५ औ मिनेटमा भुसारीको पासमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई दोस्रो पटक अग्रता दिलाए । पहिलो हाफमै विजय श्रेष्ठले हिमालयन शेर्पाका लागि बराबरी गोल गरे ।
८३ औ मिनेटमा भुषारी र ८८ औ मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई फेरी अग्रता दिलाए । इन्जुरी समयमा रवि थापा मगरले हिमालयनका लागि गोल गरे । जितका बाबजुद सरस्वती ४ अङ्कका साग तालीकाको पुछारमा छ भने हिमालयन शेर्पा ७ अङ्क सहित १२ औ स्थानमा छ । सो खेलमा भुषारी म्यान अफ द म्याच घोषित भए ।

Comment