आर्चरीमा नेपाललाई एक रजत सहित ३ पदक

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो ।

आइतबार भएको फाइनलमा खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दा नेपाल रजत पदकमा सिमित भएको हो । नेपालले फाइनल खेलमा १ सय ४० अंक ल्याउदा बंगलादेशले भने १ सय ४८ अंक ल्याउन सफल भएको हो । नेपाली टिममा इमायुङग् राई र सनातन मल्ल रहेका थिए भने बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना सहभागि भएका थिए । उक्त इभेण्टमा श्रीलंकाले कास्य पदक हात पार्न सफल भएको छ ।

१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा आइतबारसम्म ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटि ढंगले बर्चश्व जमाउन सफल भएको छ । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो ।

त्यस्तै कम्माउण्ड पुरुष तर्फ नेपालले कास्य पदक हात पार्न सफल भएको छ । नेपालले कास्य पदकको लागि आइतबार भएको खेलमा श्रीलंकासंगलाई १ अंकको अन्तरले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो । नेपालले २ सय ८ अंक ल्याएको थियो भने श्रीलंकाले २ सय ७ अंक ल्याएको थियो । नेपालको टिममा मिन प्रसाद गौचन, सनातन मल्ल र योगेन्द्र शेरचन रहेका थिए । श्रीलंकाको टिममा अथन पोला संजिव वसन्त कुमार, पेरेरा कुरुकुला एराच्चिङगे उदय आइएनडी र विरासिंघे कनिस्कार गाएन रहेका हुन् । उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशले भुटानलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । विजेताले २ सय २५ अंक ल्याउदा उपविजेताले भने २ सय १४ अंक ल्याएको थियो । बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिम कुमार र राना एमडी सोहेल रहेका थिए भने भुटानको टिममा वाङग्डि फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा रहेका हुन्।

कम्पाउण्ड महिला तर्फको खेलमा नेपालले सिधै वाई पाएर कास्य पदक प्राप्त गर्न सफल भएको हो । यस इभेण्टमा भुटान सहभागि नभएसंगै नेपाललाई सहज कास्य पदक प्राप्त भएको हो । नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेका थिए । उक्त बिधामा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण जितेको हो । बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोलि रहेका थिए भने श्रीलंकाको टिममा करुनारन्ते अनुराधा, सालिका हर्सानि र थाक्सिला दमयान्थि रहेका हुन्।

त्यसै गरी कास्य पदकको लागि नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा भुटानसंग समान अंक भए पनि नेरेस्ट द प्वाइटका आधारमा नेपाल पराजित भएको छ । नेपाल र भुटानको समान २८ अंक रहेको थियो । नेपाली टिममा तिकल पुन मगर, रोसन नगरकोटी र अशिम शेरचन रहेकाछन्। उक्त बिधामा बंगलादेशले श्रीलंकालाई पराजित गरी स्वर्ण हात पार्न सफल भएको हो ।

रिकर्भ महिला तर्फको खेलमा पनि नेपालले कास्य पदकको लागि भुटानसंग भएको खेलमा २ अंकले पराजित भयो । नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ रहेका थिए भने भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकि सुनाम र डेमा सोनाम रहेका थिए । उक्त बिधामा पनि बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण हात पारेको हो । बंगलादेशको टिममा खातुन एमएसटी इटिवाई, मोनेरा महनाज अक्तेर र रे व्यूटि रहेका थिए भने श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका, तयावल्लि रिहाना र वाक दुगे मल्सा दिल्हानी रहेका थिए ।

रिकर्भ मिक्स टिम पनि नेपालले कास्य पदक प्राप्त गर्न चुक्यो । कास्य पदकको लागि आज भएको खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको हो । नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्चि सजिव र तयावल्लि रिहाना रहेका थिए । उक्त बिधा पनि बंगलादेशले भुटानले पराजित गर्दै स्वर्ण पदक हात ापर्नै सफल भएको हो । बंगलादेशको टिममा खातुन एमएस्टी इटीवाई र साना एमडी रुमन सहभागि भएका थिए भने भुटानको टिममा देमासोनाम र छिरिङ किन्ले रहेका थिए ।

नेपाल सहित ४ देश सहभागि भएको खेलमा भोलि (सोमबार) एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुने भएको नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए ।

Comment