म्याग्दीका सुजन पुन आर्चरी च्याम्पियन

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । म्याग्दीकै उमेश तिलिजालाई फाइनलमा ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । पुनले उपाधि सहित नगद २५ हजार पुरस्कार पाएका छन् । उपविजेता तिलिजाले २० हजार पाए ।

पुन पहिलो दिनको र्‍याङकिङ राउण्डमा २७७ अंक हान्दै नकआउट चरण प्रवेश गरेका थिए । नकआउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । कास्की जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीकै राजु खोर्जा पुले तेस्रो भए । कास्कीका पूर्ण गौचन चौथो भएका छन् । तेस्रो हुनेले नगद १५ हजार र चौंथो हुनेले १० हजार पुरस्कार पाए ।

६० वर्षमाथिको भेट्रान्स तर्फको स्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २३३ अंक जोड्दै प्रथम भए । तीन गाउँले थकाली समाजका बुद्धि थकाली २२५ अंकसहित दोस्रो स्थानमा रहँदा मनाङ समाजका छोर्तेन गुरुङ २२३ अंकसहित तृतीय भए । भेट्रान्सतर्फको प्रतिस्पर्धामा ७ जना खेलाडीले निशाना लगाएका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगितामा चार सेमिफाइनलिष्टसँगै अन्य १२ जना गरी १६ जनालाई बन्द प्रशिक्षणमा राखिने कास्की जिल्ला आर्चरी संघले अध्यक्ष योगन्द्र शेरचनले जानकारी दिए । प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङका गरी ६९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment