नयाँगल्ली र एलजी एशोसिएसन फाइनलमा
पोखरा
नयाँगल्ली एफसी र एलजी एशोसिएसन पोखरामा जारी कल्याण शेरचन समृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को फाइनलमा प्रवेश गरेका छन्। कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार बगरस्थित टुँडिखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा नयाँगल्ली एफसीले पोखरा भ्याली स्पोर्टस् क्लबलाई १–० ले पराजित ग¥यो। नयाँगल्लीको जीतमा अमृत श्रेष्ठले निर्णायक गोल गरेका थिए।
दोस्रो खेलमा एलजी एशोसिएसनले पाटन युनाइटेडलाई २–० ले हरायो। एलजीको जीतमा सन्तोष श्रेष्ठ र विश्व गुरुङले एक–एक गोल गरेका थिए।शनिबार नयाँगल्ली एफसी र एलजी एशोसिएसनबीच दिउँसो एक बजे फाइनल खेल हुने प्रतियोगिता संयोजक डीबी नेपालीले जानकारी दिए।
प्रतियोगितामा १६ टीमको सहभागिता रहेको छ।विजेता टीमलाई नगद ६५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ३५ हजार पाँच सय ५५, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई नगद तीन हजार पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष प्रदीप गौचनले जानकारी दिए।
समापनको अवसरमा विविध साँस्कृतिक कार्यक्रमसहित कास्की जिल्ला प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भई देशकै गरिमा बढाउन सफल पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङलाई सम्मान गरिने छ।
ब्रिटिश गोर्खामा हुँदै सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्याण्डको रजाधानी बैंकक र १९८२ मा जर्मन प्रशिक्षक रुडीको प्रशिक्षकत्वमा भारतको राजधानी नयाँदिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टीमबाट प्लेमेकरको भूमिकामा खेलेका गुरुङले कुनै समय आरसिटीबाट फरवार्डको भूमिका निर्वाह गरेका थिए।
ब्रिटिश आर्मीका रिटायर्ड आर्मी गुरुङ एन्फा यु–१४, यु–१६, आर्मी, एपीएफजस्ता ए डिभिजनका क्लबमा प्रशिक्षक भएका थिए। सहारा क्लबमा करिब छ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए।
सन् १९८२ मै ब्रिटिश गोर्खा टीमबाट एन्फा कप पनि खेलेका उनलाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्रले सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले जानकारी दिए।