सेभेन–ए–साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल सम्पन्न

पोखरा
कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा सञ्चालित कल्याण शेरचन समृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत बिहीबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्। बिहीबार भएको पहिलो खेलमा नयाँगल्ली एफसीले एयरपोर्ट युथ क्लबलाई २–० ले पराजित ग¥यो। नयाँगल्लीको जीतमा अनिल गुरुङले एक गोल तथा अर्को गोल एयरपोर्टका युवराज गुरुङले आत्मघाती गरेका थिए।
दोस्रो खेलमा पोखरा भ्याली स्पोर्टस् क्लबले रत्नासेवा समाज क्लबलाई ५–० ले पाखा लगायो। पोखरा भ्यालीको जीतमा सुविन श्रेष्ठले चार तथा सञ्जय गुरुङले एक गोलको योगदान दिएका थिए।
तेस्रो खेलमा पाटन युनाइटेडले काजीपोखरी युथ क्लबलाई २–० ले पराजित ग¥यो। पाटनको लागि प्रवीन थापा र आगमन खड्काले एक–एक गोल गरेका थिए। चौथो खेलमा एलजी एशोसिएसनले फेदी एफसीलाई १–० ले हरायो। एलजीको जीतमा सन्तोष श्रेष्ठले निर्णायक गोल गरेका थिए।
शुक्रबार नयाँगल्ली एफसी र पोखरा भ्याली स्पोर्टस् क्लबबीच बिहान १० बजे पहिलो तथा पाटन युनाइटेड र एलजी एशोसिएसनबीच बिहान ११ बजे दोस्रो सेमिफाइनल खेल हुने प्रतियोगिता संयोजक डीबी नेपालीले जानकारी दिए।
माघ २४ गतेसम्म पोखराको बगरस्थित टुँडिखेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद ६५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ३५ हजार पाँच सय ५५, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई नगद तीन हजार पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष प्रदीप गौचनले जानकारी दिए।

Comment