अर्किड कप जुनियर फुटबल माघ २९ देखि

अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता माघ २९ गतेदेखि हुने भएको छ ।
सेभेन ए साइड स्वरुपमा हुने प्रतियोगितामा ४० छात्र टिमको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् । प्रतियोगिता नकआउट आधारमा हुनेछ ।
शीर्ष चार स्थानमा रहने टिमलाई नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भुजेलले जानकारी गराए । पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् ।
विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न अवसर प्रदान गर्नुका साथै पढाइकासंगै खेलकुद प्रति अभिरुचि बढाउन विगत तीन वर्षदेखि प्रतियोगिता सुरु गरिएको अध्यक्ष भुजेलले बताए ।
‘पढाइका अलावा विद्यार्थीहरुमा अत्तिरिक्त क्रियाकलापमा प्रतिभा हुन्छ । उनीहरुको प्रतिभा पहिचान गर्न हामीले विगत ३ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छौं । खेलकुद बाहेक अन्य अत्तिरिक्ति क्रियाकलाप पनि विद्यालयले आयोजना गर्दै आएको छ ।’– अध्यक्ष भुजेलले भने ‘खेलकुद पनि मानव जीवनको एक जरुरी हिस्सा हो । किनकि यसले मानिसलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्न सहयोग गर्छ । यस्तै विद्यालयस्तरका खेलकुदबाट भविष्यका स्टार खेलाडीको पहिचान गर्न सकिन्छ भन्ने मेरो विश्वास हो । त्यसैले यो प्रतियोगितालाई हामीले निरन्तरता दिने सोच बनाएका छौं ।’
प्रतियोगताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै फुटबल मैदानमा हुनेछ । गत संस्करणको उपाधि जितेको नेक्सस पहिलो संस्करणको पनि विजेता हो । दोश्रो संस्करणमा बेस्ट ग्रुप च्याम्पियन बनेको थियो ।

Comment