गणेशमान स्मृति बक्सिङलाई कर्पोरेट हाउसको साथ


गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितालाई विभिन्न कर्पोरेट हाउसले प्रायोजन गर्ने भएका छन् । प्रतियोगिता आयोजक कमिटीका सञ्जिव तुलाधर र प्रायोजक कर्पोरेट हाउसका प्रतिनिधिबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भयो । प्रतियोगिताका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ६ लाख रुपैयाँ बराबरको एक–एक बाइक र स्कुटर प्रदान गर्ने भएको छ । लियोन मोटर्सको मित्सुबिसीले ५ लाख, लबेल्सको रिबोकले नगद र जिन्सी गरी ५ लाख तथा ब्रिज सिमेन्ट र लक्ष्मी बैंकले समान ३–३ लाख उपलब्ध गराउने भएका छन् ।
प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका १० टिमबाट ८० पुरुष र ६० महिला गरी १ सय ४० खेलाडीको सहभागिता रहने छ । सातै प्रदेशको छनोट प्रतिस्पर्धा सकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

Comment