गणेशमान सिंह स्मृति बक्सिङ माघमा

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता माघ २२ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजिव श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, एपीएफ र नेपाल आर्मीबाट ८० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने छ । प्रत्येक स्पर्धामा पहिलो र दोश्रो हुने खेलाडीले क्रमशः २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा रोकिने दुई खेलाडीलाई समान ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई मोटरसाइकल दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्न ८० देखि ९० लाखसम्म खर्च हुने बताइएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख उपलब्ध गराउने संयोजक श्रेष्ठले जानकारी दिए । नपुग रकम प्रायोजकबाट संकलन गरिने छ ।
पाँचदिने प्रतियोगिताका खेलहरु बसन्तपुर डबलीमा खेलाइने छ । प्रतियोगिताका लागि प्रदेश छनोट मंसिर २८ गतेदेखि सुरु गरी पुस मसान्तसम्म सक्ने आयोजकले जनाएको छ ।

Comment