राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ मंसिरमा

प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता मंसिर ५ देखी ८ गतेसम्म काठमाडौंमा हुने भएको छ । आयोजक नेपाल बक्सिङ् संघका अध्यक्ष राम अवालले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताले प्रतिभावन खेलाडीको उदय हुने अध्यक्ष अवालले जनाए । नोभिस प्रतियोगितामा यसअघि औपचारिक बक्सिङ प्रतियोगिता नखेलेका महिला र पुरुष खेलाडीहरुले सहभागी हुन पाउने छन् । प्रतियोगितालाई यू–१९ र यू–२२ वर्षमुनि गरी दुई उमेर समुहमा विभाजन गरिएको छ । यू–१९ वर्षमुनिको महिला र पुरुषतर्फ ५÷५ वटा तौल समुह रहेका छन् ।
महिलातर्फ ४८ केजी,५१ केजी,५४ केजी,५७ केजी र ६० केजी तौल समूह समावेश गरिएको छ । त्यस्तै पुरुषतर्फ ४९,५२,५६,६० र ६४ केजी तौल समूह रहेका छन् । यु–२२ वर्षमुनिको महिलातर्फ ६ वटा र पुरुषतर्फ ८ वटा तौल समुह रहेका छन् । महिलातर्फ ४८केजी,५१ केजी,५४ केजी,५७ केजी ६० केजी र ६४ केजी तौल समूह समावेश गरिएको छ । यू–२२ बर्पमुनीको पुरुषमा ४९,५२,५६,६०,६४,६९,७५ र ८१ केजी तौल समावेश गरिएको नेपाल बक्सिङ संघका अध्यक्ष्ँ राम अवालले जानकारी गराएका छन् ।
नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनवहादुर केसीले देश भरबाट लगभग १ सय ८० खेलाडीको सहभागिता रहने जानकारी गराए । महिला र पुरुष यु–१९ तथा महिला र पुरुष यु–२२ गरी ४ वटै उमेर समुहमा टिम च्याम्पियन ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक केसीले जानकारी दिए । प्रतियोगिताको लागि अनुमानित बजेट २२ लाख ११ हजार रहेको केसीले बताए । पत्रकार सम्मेलनमा बडा दशैंको शुभकामना आदन–प्रदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । सो अवसरमा बक्सिङका भिष्मपितामह सुरेश सिंह आले,राखेप पुर्व सदस्य नारायणप्रसाद पौडेल,मुवाथाईका अध्यक्ष नवराज भण्डारी,हप्कीडोका अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका महाससचिव कालीवहादुर घर्तीलगायतको उपस्थिति रहेको थियो ।

Comment