जितेन्द्र र प्रेरणा च्याम्पियन

पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र प्रेरणा कोइरालाले छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा जितेन्द्रले कमल भण्डारीलाई ६–३, ३–६ र ६–३ को सेटमा पराजित गर्दै तेश्रो पटक उपाधि हात पार्न सफल भए । निर्णायक सेटमा कमल ३–० ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै जितेन्द्र च्याम्पियन बनेका हुन् । जितेन्द्र दोश्रो र तेश्रो संस्करणका विजेता हुन् । दोश्रो संस्करणदेखि पुरुष सिंगल्स स्पर्धा समावेश गरिएदेखि जितेन्द्र नियमित रुपमा प्रतियोगितामा सहभागी छन् । जितेन्द्र चौथोमा सेमिफाइनल र पाँचौंमा फाइनलमा रोकिएका थिए । बाँकी दुई संस्करणको उपाधि संरक्षकभूषण वज्राचार्यले जितेका छन् । संरक्षक हाल अध्ययन र प्रशिक्षणको सिलसिलामा अष्ट्रेलियामा छन् ।

महिला फाइनलमा डिफेन्डिङ च्याम्पियन आइरा रावत रिटायर्ड हर्ट भएपछि प्रेरणा नयाँ च्याम्पियन बनिन् । आइरा रिटायर्ड हर्ट हुनुअघि प्रेरणाले पहिलो सेट ६–३ ले जितेकी थिइन् भने दोश्रो सेटमा ३–० ले अगाडि थिइन् । महिला सिंगल्स तेश्रो संस्करणदेखि थपिएको थियो । तेश्रो र चौथो संस्करणमा मायांका राणा च्याम्पियन बनेकी थिइन् । परीक्षाका कारण मायांका प्रतियोगितामा सहभागी भइनन् ।

पुरुष÷महिला सिंगल्सका विजेताले जनही ५० हजार र उपविजेताले जनही २५ हजार नगद पुरस्कार हात पारे । पुरुष सिंगल्समा क्वाटरफाइनलिस्टसम्मले नगद पुरस्कार हात पारे । महिलामा सेमिफाइनलसम्म यात्रा तय गर्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित साताव्यापी प्रतियोगितामा ११ स्पर्धामा १ सय ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ८० हजारको गिफ्ट ह्याम्पर बाहेक प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ८० हजार रुपैयाँ रहेको थियो । पुरुष ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।

पुरुष डबल्समा जितेन्द्र परियार र सन्तोष खत्री तथा मिक्स डबल्समा गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी पहिलो भएका थिए ।

त्यस्तै भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स कमल भण्डारी, ३५ वर्षमाथि पुरुष डबल्समा श्रीराम मगर र सोभितमान श्रेष्ठ, ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले, ४५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, ५५ वर्षमाथि पुरुष सिंगल्समा तेक्वान्दो वरिष्ठ प्रशिक्षक ध्रुव गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुप तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकारले शीर्ष स्थान हात पारेका थिए ।

विजेतालाई नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, सिटिजन्स बैंकका पूर्व अध्यक्ष एवं सञ्चालक बालकृष्ण प्रसाईं, सिटिजन्स बैंकका सञ्चालकद्वय विजयध्वज खड्का र प्रकाश मैनाली, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment