क्षितिज र केशब सहकारी कपको फाइनलमा

स्वागतम साकोसका क्षितिज भण्डारी र गोल्डेनगेट कलेजका केशब श्रेष्ठ  गणेशमान सिंह स्मृती सहकारी कप बुद्धीचाल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । “दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी ” मुल नारा सहित ६१ औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित  प्रतियोगिताको फाइनल प्रबेश गर्ने क्रममा क्षितिजले सुमित पन्तलाई २–०  तथा केशबले रुपेस जयसवाललाई १.५–०.५ ले हराए । ताम्रकार समाज भवन जावलाखेलमा जारी प्रतियोगिता अन्तरगतको पहिलो लेग सेमिफाइनलमा कालो गोटी लीएर खेलेका केशबले रुपेसलाई पहिलो खेलमा जित हात पारेका थिए । उनले दोश्रो लेगमा सेतो गोटीमा जित हात पारेका थिए  । यी दुइ विचको पहिलो खेल ३० औ चालमा बराबरीमा सकिएको थियो ।
फ्रेन्च डिफेन्सको विन आवर प्रणालीमा  खेलेका केशबकै विचारमा १६ औ चालमा मन्त्री साट्नु रुपेसको निर्णय गलत थियो । त्यस पछि केशबको दवाव सहेका रुपेसले ४५ औ चालमा खेल त्यागे ।
अर्को खेलमा क्षितिजले डिफेन्डीङ च्याम्पियन सुमितलाई हराउने क्रममा पहिलो लेगको २३ औ चालमा सिपाही फाइदा गरेका थिए । रुइ लोपेज एक्सचेन्ज भेरिएसनमा खेलेका यी दुइ खेलाडीको विचमा यही नै निर्णायक मोड थियो । पहिलो खेल ५६ औ चालमा सुमितले त्यागेका थिए । दोश्रो लेग क्याटलन प्रणालीमा खेलेका क्षितिजले २६ औ चालमा खेल आफ्नो नाममा पारे ।
कामना सहकारीको सह आयोजनामा सञ्चालीत प्रतियोगिताको  लिग तर्फ शिर्ष बरियताका खेलाडी ललितपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघका विवेक थीङ ६.५ अंक सहित अग्रस्थानमा रहेका छन् । राष्ट्रिय च्याम्पियन गोल्डेनगेटका मदनकृष्ण कायस्थ र करुणामय साकोसका विजय मगर दोश्रो स्थानमा छन् । आइतबार आठौ चरणमा विवेकले अभिवादन साकोसका सुरबीर लामा तथा मदनले शुभलाभ बहुउद्धेश्यीय सहकारीका नबीन तण्डुकारलाई हराए । विजयले राजन पुरीलाई हराए । सुरबीर सहित, विलमलाल श्रेष्ठ,गणेशमान दुवाल,बद्रीलाल नेपाली र सुमन लामाको ५.५ अंक छ । आठौ चरणमा बद्रीले प्याराडाइजका सुसील चौधरीलाई हराए ।
Comment