बिश्वस्तरीय खेल ब्यक्तित्वको काठमाडौंमा जमघट हुने, काठमाडौं ओपनलाई केएनपी जापानको साथ


होमल्यान्ड स्पोर्ट्स क्लब नेपालको आयोजनामा हुने काठमाडौं ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा संसारमा नाम चलेका खेल ब्यक्तित्वको उपश्थिती रहने छ । २९ चैतमा सुरु हुने प्रतियोगितामा चर्चीत रुषी ग्रान्डमास्टर सर्जी भोल्कोभ र पूर्व बिश्व च्याम्पियन बिश्वनाथ आनन्दका सेकेन्ड सन्दीपन चन्द सहितको उपश्थिती रहने छ । नेपाली चेसको इतीहासमा त यो प्रतियोगिता सबैभन्दा बृहद हो । नेपालमै बिश्वस्तरीय खेलाडीको सबैभन्दा धेरै उपश्थिती रहने यो नै नेपाली खेल इतीहासकै पहिलो प्रतियोगिता समेत रहेको छ । खेलाडी मात्र होइन, बिश्व बुद्धीचाल संघ(फीडे) र एसियाली बुद्धीचाल महासंघ(एसीएफ)का नेतृत्वदायी ब्यक्तिको समेत उपश्थिती रहने छ ।
प्रतियोगितामा यी दुइ सहित १२ जना ग्रान्डमास्टर, १४ जना ईन्टरनेशनलमास्टर, १० जना फिडेमास्टर, १० जना क्यान्डिडेटमास्टरको सहभागिता टुंगो लागिसकेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइो । नेपाली चेसको कोशेढुंगाको रुपमा स्थापीत हुने अपेक्षा गरिएको यो प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, स्पेन, रसिया, ईजरायल, अजरवैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, बंगलादेश, मलेसिया, भियतनाम र केन्या गरी १ सय जना तथा नेपालका ८० गरी जम्मा १ सय ८० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । स्विस लिग प्रणालीमा ९ चरणसम्म चल्ने प्रतियोगितामा नेपालका वर्तमान तथा पूर्व राष्ट्रिय च्यापियनहरु एवं ओलम्पियाड खेलाडी लगायत प्रायः सबै शीर्ष खेलाडीको मात्र सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गर्ने छ । पत्रकार सम्मेलनकै दौरान सो सम्बन्धी सम्झौता पत्रमा होमल्यान्डका अध्यक्ष प्रकाश अधिकारी र केएनपी जापानका कन्ट्री म्यानेजर मनोजकुमार मिश्रले हस्ताक्षर गरे । सम्झौता अवधि तीन वर्षको रहने छ । प्रत्येक वर्ष केएनपीले २२ लाख बराबरको प्रायोजन गर्ने छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी १० लाख रुपैयाँ रहेको छ । बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा बैशाख ४ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ७८ लाख खर्च हुने जानकारी दिइयो ।

Comment