जिम्बावेसग ११६ रनले पराजित

ब्याटिङ सुधारेपनि विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसग पराजित भएको छ ।
ब्याटिङ सुध्रिएको दिन बलिङमा सोचे अनुरुपको प्रर्दशन नहुदा नेपाल जिम्बावेसग ११६ रनको फराकिलो अन्तरले पराजित भएको हो । बुलावाओमा भएको खेलमा नेपालले अहिलेसम्मकै विशाल लक्ष्य ३८१ रन पछ्याएको थियो । ओपनिङ व्याटिङ आज नचलेपनि मध्यक्रमका व्याट्सम्यानले औषत प्रर्दशन गरेपछि निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर नेपालले २ सय ६४ रन बनाएको थियो । ब्याटिङ पिच रहेको बुलावाओमा ९ रन मात्र जोड्दा ओपनर दिलिप नाथलाई २ रनमै गुमाएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले एकदिवसीय मान्यता पाएको जिम्बावेका बलर सामु खुलेर सर्ट प्रहार गरेका थिए । सुरुआतदेखि नै आक्रमक खेलका कप्तान खड्काले ३७ बलमा ४० रन बनाए । तेन्डाई चतराको बलमा क्लिन बोल्ड हुनु अघि पारसले ८ चौका प्रहार गरे ।
नेपालका लागि शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय पारी खेलेका थिए । शरदले ४८ बलमा ५२ रन बनाउँदै करिअरको छैटौँ अर्धशतक बनाए । युवा ब्याट्सम्यान आरिफले ५९ बलमा ५ चौकाको मद्दतले ५० रन बनाउँदै करिअरको उच्च स्कोर बनाए । ओपनर ज्ञानेन्द्र मल्लले ३२, रोहितकुमार पौडेलले ३० र दिपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिएका थिए । सोमपाल कामी १२ र सन्दीप लामिछाने ७ रनमा अविजित रहे । जिम्बावेका सिकन्दर राजाले ३ विकेट लिँदै नेपालको पारीलाई रोकेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८० रनको विशाल योगफल तयार पारेका थियो । घरेलु टोलीका लागी अनुभवी ब्याट्सम्यान बे्रन्डर टेलर र राजाले शतक बनाएका थिए । राजाले ६६ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै १ सय २३ रनको आक्रमक पारी खेले । टेलरले पनि ९१ ब्लमा सय रन बनाउँदा ७ चौका र १ छक्का प्रहार गरे । यस्तै, जिम्बावेका सोलोमन मिरेले ५२ र सेफास झुवाओले ४१ रन बनाउँदा नेपालले विशाल लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल र वसन्त रेग्मीले २–२ तथा डेब्यू खेलाडी ललित राजबंशी र सन्दीप लामिछानेले १–१ विकेट लिए । नेपालले दोस्रो खेलमा विहिवार स्कटल्याण्डसग प्रतिष्पर्धा गर्नेछ ।

Comment