साग तयारीका लागि कुस्ती खेलाडी छनोट


नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गरी ८ पुरुष कुस्ती खेलाडी शुक्रबार छनोट गरिएको छ । नेपाल कुस्ती संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रव्यापी पुरुष कुस्ती खेलाडी छनोट प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गरेको हो । छनोट भएका खेलाडी राष्ट्रिय टिम तयारीमा रहने छन् । छनोट हुने खेलाडीमा राष्ट्रिय टिमका खेलाडीको वर्चस्व रहेका छ । त्यसमा ६ खेलाडी राष्ट्रिय टिमका छन् भने बाँकी दुई नेपाल प्रहरी क्लब र बाँकेका छन् ।
राष्ट्रिय टिमका रामबाबु यादव ५७ केजी, जयमंगल यादव ६१ केजी, सरोज यादव ६५ केजी, मुख्तार आलम ७४ केजी, सुमिरकुमार साह ८६ केजी र सत्येन्द्रप्रसाद यादव १२५ केजीमा छनोट भए ।
त्यस्तै प्रहरीका दीपेश राउत कम्कर ७० केजी र बाँकेका रमेश गोतामे ९७ केजीमा छनोट हुन सफल भए । एकदिने प्रतियोगितामा १९ खेलाडीले प्रतिस्पर्धा गरेको कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले जनाएका छन् ।

Comment