कुस्ती टोलीको बिदाइ

किर्गिस्तानको बिश्केकमा आयोजना हुने एसियन रेस्लिङ च्याम्पियनसिप तथा एसियाली युडब्लुडब्लु एसिया काउन्सिलको कग्रेसमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले बिदाइ गरे ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा रेस्लिङ खेलको अवस्था लामो समय सही अवस्थामा नरहे पनि वर्तमान नेतृत्वले सही दिसामा अघि बढाएको विचार व्यक्त गरे । बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष अशोक रत्न व्यञ्जनकारको पनि उपस्थिति थियो ।
अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता आयोजना हुने छ भने अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगिता हुने छ ।
दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुरेशले गत वर्ष भारतमा भएको एसियाली बेल्टमा कांस्य जितेका थिए ।
प्रशिक्षकमा मुम्ताज अलि इद्रिसी रहेका छन् । खेलाडीसहितको ३ सदस्यीय टोली चैत २४ गते किर्गिस्तान जाने छन् ।
अप्रिल ५ तारिखमा किर्गिस्तानमै हुने युनाइटेड वर्ल्ड रेस्लिङ एसिया काउन्सिलको साधारण सभामा भाग सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारी शुक्रवार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
