करातेमा पश्चिमाञ्चल च्याम्पियन
Manoj Shiama
8 July, 2017 10:53 am
नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेमा पश्चिमाञ्चल टिम च्याम्पियन बनेको छ । पश्चिमाञ्चलले ४ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ मध्यमाञ्चल दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमाञ्चलले १ स्वर्ण र २ कांस्य जित्यो । करातेको अन्तिम दिन छात्रा ४५ केजीमा पश्चिमाञ्चलकी मोनु तामाङ, छात्र ५२ केजीमा पश्चिमाञ्चलका अंकित गुरुङ, छात्र एकल कातामा पश्चिमाञ्चलका बुद्ध लामा, छात्रा एकल कातामा पश्चिमाञ्चलकी रश्मि पाण्डे तथा छात्रा ५० केजीमा सुदूरपश्चिमाञ्चलकी लक्ष्मी विष्टले स्वर्ण जिते ।