साग स्वर्ण विजेता निमा सम्मानित

Manoj Shiama
11 June, 2017 10:40 pm

साग स्वर्ण विजेता निमा सम्मानित १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता निमा घर्ती मगर आइतबार सम्मानित भएकी छन् ।मार्सल आर्ट अर्गनाइजेसन, नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको समापनको अवसरमा निमालाई नगदसहित सम्मान गरिएको हो । काभ्रे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रदीप बोगटीले निमालाई व्यक्तिगत ५० हजार प्रदान गरी सम्मान गरे । पुरस्कार प्राप्त गरेपछि निमाले तत्कालै उक्त रकम मध्ये ६० प्रतिशत आयोजकलाई प्रतियोगिताका लागि सहयोग स्वरुप प्रदान गर्ने घोषणा गरिन् । सोही अवसरमा १२ औं सागका अन्य पदक विजेतालाई उसु खेलाडीलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान टिम च्याम्पियन बन्यो । बुद्ध प्रकाशले १३ स्वर्ण, ४ रजत र ८ कांस्य जित्यो । ११ स्वर्ण, १ रजत र १ कांस्यसाथ कैलाली उसु क्वान दोश्रो तथा ५ स्वर्ण, ८ रजत र ३ कांस्यसाथ मनमैजु उसु क्वान तेश्रो भए ।सान्सौंको पुरुषमा कैलालीका नवीन जर्घा मगर तथा महिलामा बुद्ध प्रकाशकी एलिशा नगरकोटी उत्कृष्ट खेलाडी चुनिए । थाउलोको पुरुषमा डोल्फिनका कल्याण राई तथा महिलामा मनमैजुकी दीपिका राई उत्कृष्ट खेलाडी ठहरिए ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, आयोजकका अध्यक्ष राजिव महर्जनलगायतले एक कार्यक्रमबीच पुरसकृत गरे । चारदिने प्रतियोगितामा ६ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।