भक्तपुरमा कुस्ती प्रतियोगिता आयोजना


भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित बालकोटमो कुस्ती प्रतियोगिता आयोजना भएको छ । प्रतियोगितामा बारा, पर्सा, रौतहट, सिराहा, नवलपरासी, सुनसरी, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र दाङका २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
सोतोकान कराते–डो संघ नेपाल (भक्तपुर)को आयोजनामा भएको सो प्रतियोगितामा महिलातर्फ ३ र पुरुषतर्फ ५ इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ६५ केजी तौल समूहमा पर्साका सरोज यादवले स्वर्ण र भक्तपुरका विजय मोक्तानले रजत पदक प्राप्त गरेका छन् भने ७५ केजी तौल समूहमा बाराका रामबाबु यादवले स्वर्ण र वर्दियाका रमेश गुप्ताले रजत पदक हासिल गरेका छन् ।
त्यस्तै, ९७ केजी तौल समूहमा पर्साका शुमिरकुमार शाहले स्वर्ण र बाँकेका कमरुद्दिन मियाले रजत पदक प्राप्त गरेका छन् ।
महिलातर्फ ५५ केजी तौल समूहमा कञ्चनपुरकी संगीता धामीले स्वर्ण, सुनसरीकी राधा खतवेले रजत र सुर्खेतकी अनु आँकुराले कास्य प्रदक प्राप्त गरेका छन् भने ६० केजी तौल समूहमा कैलालीकी लक्ष्मी खत्रीले स्वर्ण, कञ्चनपुरकी निरा आउजीले रजत तथा दाङकी एण्डीज नेपाली र सुनसरीकी आशा खतवेले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद खेलाडी तयारी समितिका निर्देशक रिम रानाभाट, नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणा, उपाध्यक्ष राजेश जोशी, सचिव चण्डिका वास्तोला लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
खेलकुद विकासको लागि विविध खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको संघले भक्तपुरमा कुस्तीको बारेमा चासो बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । संघले राष्ट्रिय कराते प्रतियोगिता, रनिङ सिल्डलगायत विविध प्रतियोगितामार्फत स्थानीयस्तरमा खेलकुद विकासका लागि काम गर्दै आएको छ ।

Comment