व्याकुल माइला गोल्डकपमा नयाँ नेपाल च्याम्पियन

Manoj Shiama
19 April, 2017 11:13 pm


व्याकुल माइला गोल्डकपको छैटौं संस्करणको उपाधि आयोजक संस्था नयाँ नेपाल सरोकार समाज ‘ए’ले उचालेको छ । हालै भएको फाइनल खेलमा मानेभञ्ज्याङ युवा समूहलाई १–० गोल अन्तरले हराउँदै आयोजकले उपाधिमाथि कब्जा जमाएको हो । राष्ट्रिय गान सर्जक माइलाको सम्मानमा उनकै जन्मथलो ओखलढुंगाको हिलेपानी–सोक्माटारस्थित दूधकोसी किनारमा प्रतियोगिता हुँदै आएको छ । उपाधि जित्ने टिमले नगद १ लाख, १०३ तोला चाँदीको रनिङ सिल्ड, उपविजेताले नगद ५० हजार, ८५ तोला चाँदीको रनिङ सिल्ड प्राप्त गरेका छन । तेस्रो स्थानमा आएको आयोजककै ‘बी’ समूहले नगद २५ हजार, ६५ तोला चाँदीको रनिङ सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । ५÷५ हजार रुपैयाँ राशिको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधि क्रमशः नयाँ नेपाल सरोकार समाजका राजु राई, मानेभञ्ज्याङ युवा समूहका कुमारजित मगर र रेवत पुलामीले हात पारे । सबैभन्दा बढी अनुशासित र मर्यादित टिमलाई प्रदान गरिने नगद १० हजार राशिको ‘दिलकर्ण बेस्ट टिम अवार्ड’ वेस्ट काठमाडौं फुटबल क्लबले प्राप्त गरेको छ । प्रतियोगितामा १८ टिम प्रतिस्पर्धामा उत्रिएका थिए ।
‘खेलकुद्को माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालित प्रतियोगिताको उद्घाटन र पुरस्कार वितरण समारोहमा प्रतिविम्ब कलाकेन्द्र काठमाडौंका कलाकारले कौरा, टप्पा र मारुनी नाच, लोकेश्वर मिडियाका कलाकारले ताम्बो सेलो, म्याग्दीकी कलाकार दिलकुमारी राम्जली गर्बुजा मगर र स्थानीय महादेवस्थान मावि विद्यार्थीले थाली नाच प्रस्तुत गरेका थिए । आयोजकका अनुसार निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । पाटन अस्पतालका चिकित्सकहरू रवि शाक्य (मनोरोग विशेषज्ञ) पवन शर्मा (स्त्री रोग विशेषज्ञ), अजित नेपाल (नाक, कान, घाँटी रोग विशेषज्ञ), अनित अमात्य (छालारोग विशेषज्ञ), सन्जित कार्की (फेमिली फिजिसियन विशेषज्ञ)लगायत स्वस्थ्यकर्मीले सेवा दिएका थिए ।
माइलाले गोल्डकप सुरु भएयता उक्त ठाउँका नयाँ पुस्ताहरूमा सकारात्मक परिवर्तन देखिएको उल्लेख गर्दै व्यापकता र व्यावसायिकताभन्दा पनि आयोजकले राखेका सामाजिक विकास, रुपान्तरण र परिवर्तनको लक्ष्य प्राप्तितर्फ प्रतियोगिता उन्मुख हुनुपर्ने बताए ।