लेकसाइड एफसीलाई नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि

Manoj Shiama
25 December, 2014 10:22 pm

lakeside
लेकसाइड एफसीले पोखरामा जारी नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।
बुद्धटोल युवा क्लब पोखराको आयोजनामा पुरानो टुँडिखेल मैदानमा बिहीबार भएको फाइनलमा एएमपिएम गौरीघाट एफसीलाई टाइब्रेकरमा ३–२ ले हराउँदै लेकसाइड एफसीले उपाधि हात पारेको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा लेकसाइडका गोलकिपर विशाल श्रेष्ठले गौरीघाटका अनिल गुरुङको पहिलो प्रहार सेभ गरेका थिए भने म्यान अफ दी म्याच सुनिल विक र कालु थापाको प्रहार गोलमा परिणत भएको थियो। लेकसाइडको तर्फबाट भने रुपेश केसी, अनिल ओझा र विमल घर्तीमगरका तीनै प्रहार गोलमा परिणत भएको थियो।
लेकसाइडले उपाधिसँगै नगद नगद ७५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित गौरीघाटले नगद ४५ हजार पाँच सय ५५ मा चित्त बुझायो।
प्रतियोगितामा गौरीघाटका कालु थापा बेस्ट डिफेण्डर, गौरीघाटकै सुनिल विक बेस्ट मिडफिल्डर, लेकसाइडका विशाल श्रेष्ठ बेस्ट गोलकिपर तथा सर्वाधिक छ गोल गरेका लेकसाइडकै रुपेश केसी हाइस्कोरर घोषित भए। उनीहरू सबैले ट्रफी हात पारे भने यु–१७ नाउडाँडा एफसीले फेयर प्लयेको ट्रफी पायो। प्रतियोगितामा बेस्ट प्लयेरको उपाधि नेपाली राष्ट्रिय टीमका स्ट्राइकर एवं लेकसाइडका विमल घर्तीमगरले हात पारे।

प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्तकुमार लामा, ग्यास व्यवसायी सङ्घका उपाध्यक्ष बालकृष्ण कोइराला र वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक अम्बरबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए । पुस २ गतेबाट सञ्चालित सो प्रतियोगितामा ३५ टीमको सहभागिता रहेको थियो ।