‘एनबीए’ नेपाल कप भेट्रान फुटबल यसै महिना

lok
स्पोर्ट्स फर अल क्लबको आयोजनामा ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगिता पुस २५ गतेदेखि त्रिपुरेश्रस्थित दशरथ रंगशालामा हुने भएको छ ।
प्रतियोगितामा १० देखि १२ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
टिममा सहभागी खेलाडीको उमेर ४० वर्ष पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । नकआउट पद्धतिमा माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको अनुमानित बजेट १७ लाख १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । खेल ७० मिनेटको हुनेछ । प्रत्येक टिमले ५ ‘सब्स्टिच्युट’ खेलाडी राख्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन आयोजकले नेपाल प्रहरी, एपीएफ, नेपाली सेना, नेपाल बैंकर्स एसोसिएसन, मनाङ मस्र्याङदी क्लब, ब्वाइज युनियन क्लब, एनआरटी, आरसीटी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, काठमाडौं भेट्रान टिम, पूर्वाञ्चल भेट्रान टिम, पश्चिमाञ्चलको पोखरा भेट्रान टिम तथा कालिम्पोङ र दार्जिलिङको भेट्रान टिमलाई आमन्त्रण गरिएको जानकारी दिइयो । प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल बैंकर्स एसोसिएसन (एनबीए) रहेको छ ।
स्पोर्ट्स फर अल क्लबले यसअघि जनकपुरधाम र इलामको फिक्कलमा नगद पुरस्कारको पुरुष फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
पत्रकार सम्मेलनमा बैंकर्स एसोसिएसनका प्रतिनिधि एवं सिभिल बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द्र गुरुङले प्रतियोगितामा बैंकर्स एसोसिएसनको भूमिका बारे प्रकाश पारेका थिए ।
प्रतियोगिताको समापनका अवसरमा पूर्व राष्ट्रिय फुटबलरद्वय वाइबी घले र श्रीराम रन्जितकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Comment