पुकारद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत भारोत्तोलनको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । राजविराजमा चार दिन चलेको भारोत्तोलनको प्रत्येक दिन नयाँ राष्ट्रिय कीर्तिमान बने ।
अन्तिम दिन पुरुष १०५ केजीमाथि नेपाल आर्मी क्लबका पुकार गुरुङले स्न्याचमा १२४ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२३ केजीको कीर्तिमानमा सुधार गरे । उनले गत वर्ष थाइल्यान्डमा भएको एसियाली च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए । पुकारले स्न्याचमा १२४ केजीसहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कूल २५९ केजी भार उचाल्दै स्वर्ण जिते । मध्यमाञ्चलका राजिव महर्जन दोश्रो भए । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११३ गरी जम्मा २०३ केजी वजन उठाए । तेश्रो भएका सुदूरपश्चिमाञ्चलका सुवास उपाध्यायले स्न्याचमा ९१ र क्लिन एन्ड जर्कमा ११० गरी जम्मा २०१ केजी भार वहन गरे ।
पहिलो दिन नेपाल प्रहरीकी देवी चौधरीले महिला ५३ केजीको स्न्याचमा कीर्तिमान रचेकी थिइन् । दोश्रो दिन आर्मीकी कमला श्रेष्ठले महिला ५८ केजीको स्न्याच, क्लिन एन्ड जर्क र जम्मामा राष्ट्रिय कीर्तिमान स्थापित गरिन् भने त्यसै दिन आर्मीका कमलबहादुर अधिकारीले पुरुष ८५ केजीको क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । तेश्रो दिन प्रहरीका दिनेश श्रेष्ठले पुरुष ९४ केजीको स्न्याच, क्लिन एन्ड जर्क र जम्मामा कीर्तिमान बनाउन सफल भएका थिए ।
पुरुषको १०५ केजीमुनि प्रहरीका गगन चन्दले स्वर्ण जिते । उनले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा ११८ गरी जम्मा २१४ केजी भार उठाए । स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २१३ केजी वजन उठाएका प्रहरीकै विपेन्द्र महर्जन दोश्रो भए । मध्यमाञ्चलका आशिक हुसैन तेश्रो बने । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १०८ गरी जम्मा १९८ केजी भार वहन गरे ।
प्रतियोगितामा पाँच विकास क्षेत्रसहित तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफका गरी जम्मा १०३ खेलाडीले १५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ८ र महिलामा ७ स्पर्धा समावेश थियो ।

Comment