दिनेसको उपाधि यात्रा कायम

झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भइरहेको सातौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ खेलमा बुधबार नेपाली सेनाले ५ स्वर्ण पदक जित्न सफल भएको छ । त्यसैगरी ३ स्वर्ण जित्दै सशस्त्र प्रहरीको एपीएफ क्लवले सेनालाई पछ्याइरहँदा मध्यमाञ्चल विकास क्षेत्रले एक स्वर्ण जितेको छ ।
महिला लाइट फ्लाइवेट ४६–४८ केजी तौल समूहमा सेनाकी ललिता महर्जनले सशस्त्रकी दिवाना शेर्मालाई अंकका आधारमा पराजित गर्दै बक्सिङको पहिलो स्वर्ण पदक जितिन । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ललिताले उत्कृष्ट लयमा रहँदै स्वर्ण पदक जित्न सफल भइन । त्यसैगरी महिलाकै फ्लाइवेट ४८–५१ केजी तौल समूहमा एपीएफकी माला राईले स्वर्ण जितिन् । उनले सेनाकी गीता थापा मगरलाई अंकका आधारमा पराजित गरिन् ।
महिलाकै वेन्टम ५१–५४ केजी तौल समूहमा सेनाकी विमला श्रेष्ठले स्वर्ण जित्न सफल भइन् । उनले सशस्त्रकी प्रमिला पाण्डेलाई अंकका आधारमा पराजित गरिन् । महिला फेदरवेट ५४–५७ केजी तौल समूहमा सेनाकी निरु गुरुङले स्वर्ण जितिन् । फाइनलमा उनले एपीएफकी माया चौधरीलाई अंकका आधारमा पराजित गरिन् । महिला लाइटवेट ५७–६० केजी तौल समूहमा एपीएफकी सरस्वती राना मगरले सेनाकी सोनम राईलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन् । निक्कै प्रतिस्पर्धात्मक खेलमा सरस्वतीले अंकका आधारमा विजयी भइन् ।
त्यसैगरी पुरुष लाइट फ्लाइटवेट ४९ केजीभन्दा माथिको तौल समूहमा मध्यमाञ्चल विकास क्षेत्रका सुशील थापाले स्वर्ण जिते । उनले फाइनलमा सेनाका सुभाष विकलाई अंकका आधारमा पराजित गरे । पुरुषकै ५२ केजी तौल समूहमा सेनाका प्रेम चौधरीले स्वर्ण जिते । उनले एपीएफका विक्रम परियारलाई अंकका आधारमा पराजित गर्न सफल भए ।
पुरुषकै ५६ केजी तौल समूहमा एपीएफका पुरन राई विजयी भए । स्वर्णका लागि भएको खेलमा उनले सेनाका विमल रोकालाई अंकका आधारमा पराजित गरे । पुरुष लाइटवेट ६० केजी तौल समूहमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले स्वर्ण पदक जिते । एपीएफका दिनेश चन्द घाइते भएर खेल त्यागेपछि श्रेष्ठले वाकओभरका आधारमा स्वर्ण पदक जितेका हुन् । पुरुषकै लाइट वेल्टर ६४ केजी तौल समूहमा सेनाका दीपक श्रेष्ठले विजय हासिल गरे । उनले प्रतिस्पर्धात्मक खेलमा नेपाल प्रहरीका भूपेन्द्र थापालाई अंकका आधारमा पराजित गरे ।

Comment