कमल र कमालाको राष्ट्रिय कीर्तिमान

कमल अधीकारी

सातौ राष्ट्रिय खेलकुद अन्तरगत सप्तरीको राजविराजमा जारी भारोत्तोलनको महिला ५८ केजीमा आर्मीकी कमला श्रेष्ठ र पुरुषको ८५ केजीमा आर्मीकै कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
कमलाले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरी जम्मा १४५ केजी भार वहन गर्दै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । स्न्याचमा कमलाले झन्ट कट्वालले २०६२ सालमा ललितपुरको लुभूमा भएको दोश्रो राष्ट्रिय महिला भारोत्तोलनमा बनाएको ६५ केजीको कीर्तिमान भंग गरिन् । त्यस्तै कुलमा पनि कमलाले दोश्रो राष्ट्रियमै झन्टले नै बनाएको १४२ केजीको कीर्तिमान तोडिन् । क्लिन एन्ड जर्कमा भने कमलाले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा भएको प्रथम शालिमार भारोत्तोलनमा बनाएको ७८ केजीको कीर्तिमान भंग गरेकी हुन् ।
१० औं सागका स्वर्णधारी कमलले क्लिन एन्ड जर्कमा १५५ केजी भार वहन गर्दै श्रीलंकामा भएको १० औं दक्षिण एसियाली खेलकुद (साग) मा ज्ञानबहादुर श्रेष्ठले स्थापित गरेको १५४ केजीको कीर्तिमान भंग गरे । उनले स्न्याचमा १०५ केजीसहित कुल २६० केजी भार उचाले ।
पुरुषको ६९ केजीमा मध्यपश्चिमाञ्चलका प्रकाश केसी पहिलो भए । उनले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा १२५ गरी जम्मा २२१ केजी भार वहन गरे । पुरुष ७७ केजीको स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १२० गरी जम्मा २०५ केजी तौल उठाउदै आर्मीका सुरेन्द्र श्रेष्ठले स्वर्ण जिते ।
महिलाको ६३ केजीमा प्रहरीकी जुनुमाया छन्त्यालले शीर्ष स्थान कब्जा गरिन् । जुनुले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८० गरी जम्मा १४० केजी भार उठाइन् ।

Comment