सशस्त्र र आर्मीको जित

Manoj Shiama
23 December, 2016 10:04 pm

सातौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष फुटबलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाली सेनाको टिमले जित हात पारेका छन् ।धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘ख’ को लिग खेलमा सशस्त्रले मध्यपश्चिमललाई ८–० को फराकिलो गोल अन्तरले हरायो भने सेनाले सुदूरपश्चिमाञ्चललाई १–० को झिनो गोलअन्तरले पराजित गरे । जितसँगै एपिएफ र सेनाले समान ३÷३ अंक जोडे ।
सशस्त्र र मध्यपश्चिमको पहिलो खेलमा एपिएफका युवराज खड्काले ह्याट्रिकसहित ४ गोल गरे । उनको चारै गोल दोश्रो हाफमा सम्भव भयो । खेलमा पहिलो हाफको १० औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । दोस्रो गोल मध्यपश्चिमले १२ औं मिनेटमा आत्मघाती गोल खायो । एपिएफका श्याम नेपालीको प्रहारलाई रोक्ने प्रयास गर्दा मध्यपश्चिमका चेतन थारुले आफ्नै पोष्टमा गोल गरे भने १४ औं मिनेटमा श्याम नेपालीले तेस्रो गोल गरे । इन्जुरी समयमा राजेन्द्र रावलले गोल गर्दै पहिलो हाफमा एपिएफलाई ४–० को अग्रता दिलाए । दोस्रो हाफको ८ औं, ३४ औं र ४४ औं मिनेटमा गोल गर्दै एपिएफका युवराज खड्काले ह्याट्रिक गरे भने इञ्जुरी समयमा पनि थप एक गोल गर्दै एपिएफलाई ८–० गोलको फराकिलो अन्तरले जित दिलाए ।
दोस्रो खेलमा सेनाले सुदुरपश्चिमलाई १–० ले हराउदा सुमन अर्यालले निर्णायक गोल गरेका थिए । उनले पहिलो हाफको छैटौं मिनेट हेडमार्फत गोल गरे । शनिबार समूह ‘क’ को पहिलो खेल नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रबीच हुनेछ भने दोस्रो खेल मध्यमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ ।