वादोकाई करातेमा नेपाल टिम च्याम्पियन

narayan-magare
चौधौ वादोकाई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । भारतको कोलकातामा नोभेम्बर १८ देखि २० तारिखसम्म भएको प्रतियोगितामा नेपाल १६ स्वर्ण र ६ रजतसहित टिम च्याम्पियन बन्न सफल भएको टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका नेपाल वादोकाई कराते संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् ।
प्रतियोगितामा सनम लिम्बू र मिराज डंगोलले दोहोरो स्वर्ण जिते । गोमन गिरी, रुपेश आले मगर, सज्वल बुढाथोकी, विजय सापकोटा, निरज भण्डारी, सुवास देउजा, सुमित्रा अधिकारी, अन्जली लिम्बू, शिव भण्डारी, एलिना विक, सिर्जना महर्जन र पूजा महर्जनले विभिन्न स्पर्धामा नेपाललाई १–१ स्वर्ण दिलाए ।
त्यस्तै गोमन, राकेश खत्री, रपेश, सुवास, सुशान्त तुलाधर र अन्जलीले १–१ रजत जिते । टिम प्रशिक्षकमा वादोकाई संघका कोषाध्यक्ष सनमान गोले रहेका छन् । सुरेश बस्नेत र सुजेन्द्र केसीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र बंगलादेश गरी ४ राष्ट्रको सहभागिता रहेको वादोकाई संघले जनाएको छ ।

Comment