युथ र जुनियर भारोत्तोलन नेपालमा

एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको अर्को संस्करण नेपालमा हुने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बुधबार भएको एसियाली भारोत्तोलन महासंघको कार्यकारी बैठकले उक्त प्रतियोगिता आयोजना गर्न नेपाललाई अवसर दिएको नेपाल भारोत्तोलन संघले जनाएको छ । प्रतियोगिता २०१७ को जुलाई २१ देखि ३० तारिखलाई तय भएको छ ।
नेपालले युथ, जुनियर तथा सिनियर भारोत्तोलन च्याम्पियनसिपका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । त्यसमा एसियाली सिनियर च्याम्पियनसिप आयोजनाको अवसर भने कोरियालाई प्रदान गरेको बताइएको छ ।
बैठकमा दक्षिण एसियाली भारोत्तोलन संघका उपाध्यक्ष एवं एसियाली भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल्मानाका सहायक समेत रहेका नेपाल भारोत्तोलनका अध्यक्ष रतनकुमार टण्डनले भाग लिएका थिए ।
यसअघि नेपालले सन् २०१५ को अगष्टमा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको थियो । तर, २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्यो प्रतियोगिता थाइल्यान्डमा सारिएको थियो ।

Comment